Home

Home
इतिहास र वर्तमान  

 

 

 

 

 

 

 

 

 

 

 

 

 
 

नेपालको साहित्यिक-पत्रकारिता : समस्या र समाधान-1

- विष्णु प्रभात

क) यथास्थितिवादी सनातनधारा

ख) सुधारवादी नूतनधारा

ग) क्रान्तिकारी प्रगतिशीलधारा

चिन्तनका सन्दर्भमा पहिलोले सामन्तवादी सामाजिक मान्यतालाई अँगालेर प्रत्ययवादी दार्शनिकताको वृत्तभित्र घुमाउँछ । दोस्रोले पूँजीवादी सामाजिक पद्धतिको पक्षपोषण गरी निर्वर्गीय मानवता र व्यक्तिवादलाई सर्वोपरी राख्दछ । तेस्रोले श्रमवादी चिन्तनमा समाजलाई सर्वोपरी राखेर अन्ततोगत्वा वैज्ञानिक समाजवाद तर्फ आफ्ना समस्त कार्यकलापलाई अग्रसर गराउँछ । स्वस्फूर्त वा सचेतन ढङ्गले यिनै मूल वैचारिक वृत्तहरूभित्र एकात्मक रूप र द्वन्द्वात्मक सारमा नेपाली साहित्यिक-पत्रकारिता हुर्किरहेको छ । यस तथ्यलाई स्वीकार्दै रोचक छिमिरे लेख्दछन् -

सुरूका साहित्यिक पत्रिकाहरूको उद्देश्य मुख्यतयाः कविता, कथा, नाटक, उपन्यास आदिका माध्यमबाट पाठकहरूको मनोरञ्जन गर्नमा नै लक्षित थियो । पारम्परिक शास्त्रीय शिल्प र शैलीको परिधिमा रहेर रचित तत्कालीन रचनाहरू दैविक अथवा लौकिक स्तुतिगानतर्फ केन्दि्रत हुने गर्दथे । मूल संस्कृत भाषाका रचनालाई उल्था गरेर प्रकाशित गर्ने प्रवृत्ति पनि त्यो बेलाका साहित्यिक पत्रिकाहरूमा रहेको थियो ।" यो प्रवृत्ति यथास्थितिवादी सनातनधारा थियो मलाई लाग्छ र अहिले पनि यस मूल प्रवृत्तिको निरन्तरता देख्न सकिन्छ ।

रोचक घिमिरे अगाडि लेख्दछन् -"राणाशासनको बेला नेपाल बाहिर भारतमा बसेर नेपालीहरूले निकालेका साहित्यिक पत्रिकाहरूमा स्वदेश प्रेम, मुलुकको दयनीय स्थिति र जनमानसमा व्याप्त उकुसमुकुसलाई प्रतिबिम्बित गर्ने प्रवृत्ति टड्कारो रूपमा देखिन्थ्यो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले बनारसमा बसेर ँयुगवाणीमार्फत नेपालीहरूलाई जागृतिको सन्देश दिएका थिए भने धरणीधर, महानन्द सापकोटाजस्ता राष्ट्रप्रेमी कविहरूले भारतबाटै प्रकाशित विभिन्न साहित्यिक प्रकाशनका माध्यमबाट सामाजिक र राजनीतिक कुरीति बिरूद्ध शङ्खघोष गरेका थिए । यथार्थमा भन्दा समाचारपत्रहरूको अभावको त्यस बेलामा साहित्यिक पत्रिका नै लेखक र बौद्धिकहरूको एक मात्र शसक्त अभिव्यक्तिका माध्यम बनेका थिए । यसरी तत्कालीन अँध्यारो युगमा नेपाली समाजमा राजनीतिक चेतना उकास्न, प्रजातान्तिक सङ्घर्षलाई टेवा दिन र क्रान्तिकारी उत्सर्गको भावना उमार्न तत्कालीन साहित्यिक पत्रिकाहरूले गरेको योगदान अत्यन्त स्तुत्य रहेको छ ।" -रोचक घिमिरे, ँनेपालको साहित्यिक-पत्रकारिता र प्रवृत्तिगत वैशिष्ट्य" -लेख), हाम्रो पुरुषार्थ -२०६२) गुल्मी किरण पुस्तकालय) । यहाँ उनले दुई प्रवृत्ति सुधारवादी नूतनधाराको प्रतिविम्बन गर्ने प्रवृत्ति, जसले राजनैतिक जागरण र प्रजातन्त्रको सञ्चेतना फैलाउने काममा टेवा दिएको थियो र दोस्रो क्रान्तिकारी प्रगतिशीलधारा जसले बलिदानपूर्ण सङ्घर्षलाई हौस्याउने अर्थात क्रान्तिकारी उत्सर्गको भावना उमार्ने काम गरेको थियो लाई औँल्याएका छन् ।

नेपाली साहित्यिक-पत्रकारिताको वर्तमान स्थिति :

नेपालको साहित्यिक-पत्रकारिताको विकासमा २००७ सालको परिवर्तनले एउटा नयाँ मोड र गति प्रदान गरेको तथ्य सर्वस्वीकृत बनिसकेको छ । वि.सं. २००८ सालमा "सेवा" पत्रिका प्रकाशित भयो । त्यो पत्रिका प्रगतिशील साहित्यधाराको पहिलो प्रकाशन बन्न पुग्यो । नेपाली साहित्यिक-पत्रकारिताको विकास र विस्तारका दृष्टिले सात सालपछिका दुई दशक अत्यन्त उर्बर, गतिशील तथा समृद्ध दशक बनेर रहेका छन् । यस अवधिमा प्रतिभा -२००९) प्रगति -२०१०) जन साहित्य -२०११) नौलो पाइलो -२०१३) इन्द्रेणी -२०१३) धरती -२०१३) साहित्य -२०१६) रूपरेखा -२०१७) इन्दु -२०१७) स्वास्नीमान्छे -२०१७) बगैँचा -२०१८) रचना -२०१८) हिमानी-२०१९) सिंहनाद -२०१९) मुकुट -२०१९) पूणिर्मा -२०१९), भानु -२०२०) रत्नश्री -२०२०) अरुणोदय -२०२०) कविता -२०२१) रमझम -२०२१) सगुन -२०२१) हाम्रो संस्कृति -२०२२) प्रवाह -२०२२) आकांक्षा -२०२३) गुराँस -२०२३) प्राचीन नेपाल -२०२४) प्रतीक्षा -२०२५) मधुपर्क -२०२५) सुस्केरा -२०२६) अभिव्यक्ति -२०२७) प्रज्ञा -२०२७) जस्ता पत्रिकाहरू प्रकाशित भए । यीमध्ये रचना, भानु, नेपाली, पूणिर्मा, कविता, मधुपर्क, अभिव्यक्ति, प्रज्ञा आदि पत्रिका आज पनि निरन्तर प्रकाशित भइरहेका छन् र यीमध्ये कतिले सयौँ अङ्क पार गरी नेपाली वाङ्मयका अनेकौँ विधाको समृद्धिमा महत्वपूर्ण योगदान दिएका छन् ।

तीसको दशकमा सङ्कल्प, वेदना, झिसमिसे, उत्साह, मिर्मिरे, गरिमा, सांग्रीला, शृङ्खला, श्रीनगर, रश्मि, समष्टि, बगर, दोभान, साथी -२०३९), ज्ञानगुनका कुरा, उन्नयन, कलम, मञ्जुषा, तन्नेरी, प्रलेस, दायित्व, साहित्य-सन्ध्या, जनमत, जुही, सगर, सुगन्ध, समकालीन साहित्य, नागार्जुन, दौँतरी -नेपालगञ्ज), राप्तीदूत -दाङ) नव प्रज्ञापन, आदि अनेकौँ अनेकौँ पत्रिकाहरू प्रकाशित भए । वैचारिक प्रवृत्तिका सन्दर्भमा पनि यस अवधिका पत्रिकाहरूले सामान्यतयाः पहिले उल्लेख गरिएका तीन आधारभूत प्रवृत्तिलाई नै अँगालेर केही नयाँ प्रयोगहरू गर्दै अघि बढेका छन् ।

व्यावसायिक तवरले सञ्चालित मासिक पत्रिकाहरू - सर्वोत्तम, विमोचन, तथ्यकथा, युवामञ्च, मुना, अन्तराष्ट्रिय मञ्च, एक्काइसौँ सताब्दी, मूल्याङ्कन, कामना, साधना, अस्मिता, नवयुवा आदि विचार प्रधान एवं वयवृत्ति पत्रिकाहरूले पाठकहरूमाझ नयाँ - नयाँ खुराकहरू पस्कँदै आए । सामयिक सङ्कलनहरू, संस्थागत प्रकाशन एवं स्मारिकाहरूले पनि साहित्यिक गतिविधिलाई थप टेवा दिए । साहित्यिक-पत्रकारिताका सन्दर्भमा यी सबैको प्रवृत्तिगत सामग्रीक अध्ययन, विवेचना र मूल्याङ्कन गर्नुपर्ने ऐतिहासिक खाँचो छँदैछ र अब त्यसतर्फ पनि हाम्रो ध्यान जानु जरूरी भएको छ ।

वर्तमान समयमा नेपालको साहित्यिक-पत्रकारिता नेपालीय नेपाली भाषाका अतिरिक्त अन्य राष्ट्रिय भाषाका माध्यमबाट प्रकाशित विभिन्न साहित्यिक पत्र-पत्रिकाहरूको सङ्ख्यात्मक वृद्धिबाट समृद्ध भएको छ । नेपालीय नेपालीका अतिरिक्त नेवारी, मैथिली, भोजपुरी, थारू, सेर्पा, राई, लिम्बू, तामाङ्, मगर, गुरूङ, आदि भाषामा प्रकाशित पत्रिकाहरूको माध्यमबाट ती भाषाका नेपाली साहित्यको विकास भइरहेको छ । यस सन्दर्भमा हाल नेपाली भाषाका मधुपर्क, गरिमा, समकालीन साहित्य, प्रज्ञा, कविता, वेदना, सङ्कल्प, समष्टि, ज्योति, रचना, अभिव्यक्ति, जुही, जनमत, भानु, अक्षर, मुना, पूणिर्मा, दायित्व, साथी, उन्नयन, बगर, सगर, यद्यपि, नेपाली, प्रलेस, कलम, संस्कृति, आरोहण, गुञ्जन, जनसंस्कृति, शब्द संयोजन, कौशिकी, फित्कौली, शिवपुरी सन्देश, कल्पतरू, हाम्रो सिर्जना, अन्तर्बोध, प्रहरी, सिपाही, दोभान, बनिता -विराटनगर), दौँतरी -नेपालगञ्ज), अनुराग, हिमाली गुराँस, नवआकांक्षा, तादी, निर्झर, साहित्य सागर, शब्दाङ्कुर, अकाल कुशुम, संयोग, थुम्को आदि पत्रिकाले महत्वपूर्ण स्थान लिएको देखिन्छ । नेवारीमा प्रकाशित मचाक्यव, पुलुकिसी, थाय्भू -प्रज्ञाबाट) नःलि, नसंःचा, झीः नेपाः संस्कृति, थौं कन्हे आदि पत्रपत्रिकाहरूले काठमाडौँको नेवार समुदायमा विशेष स्थान राखेको देखिन्छ । तामाङ भाषामा प्रकाशित पत्रिकाहरूमध्ये प्राङ्बोला छारहान् -सिन्धुली) तमाङ डाजाङ -काठमाण्डू) आदि विशेष उल्लेखनीय रहेका छन् । मगर भाषाको लाङ्घाली, लाफा आदि पत्रिकाले त्यस भाषाका स्रष्टालाई एउटा मञ्च प्रदान गरी मगर भाषाको साहित्य प्रवर्द्धनमा टेवा दिएको छ । मैथिली पत्रिका आँगन -प्रज्ञाबाट) नैमिकानन् -जनकपुर) आकृति -जनकपुर) पल्लव, मिथिलावाणी आदिले त्यस भाषाको सिर्जनात्मक लेखनलाई बढावा दिएको छ । भोजपुरीमा मोजर -२०५२) गमक -२०५२), अजोरिया आदि पत्रिकाहरूले त्यस भाषाको साहित्यिक विकासमा मद्दत पुर्‍याएका छन् । थारू भाषामा प्रकाशित गोचाली आदिले थारू भाषा साहित्यको प्रवर्द्धन गरेको छ । राई भाषामा- बुङ्वाखा, कोङपी -बान्तवा, काठमाडौँ), लिब्जु-भुम्जु -वाम्बुले, काठमाडौँ) र लिम्बू भाषाको तानछोपा, पालम् र डोट्याली भाषाको गुगुल्डिजस्ता आदि पत्रिकाहरूले हामीलाई जगाएको छ । बहुभाषी पत्रिकाको रूपमा नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित ँसयपत्रीविशिष्ट छ । यस अतिरिक्त गोरखापत्रले हालै समावेशीकरणको नीति भन्दै नेपालका विभिन्न भाषाका सामग्री प्रकाशित गर्ने गरी विशेष पाना उपलब्ध गराई जातीय साहित्य प्रवर्द्धनमा टेवा दिएको छ ।

यस प्रकारको विविधतापूर्ण विकासका बाबजुद नेपाली साहित्यिक-पत्रकारिताको वर्तमान स्थिति सन्तोषजनक छैन । संस्थागत प्रकाशन बनेका नेपाली, मधुपर्क, गरिमा, मिर्मिरे, समष्टि, समकालीन साहित्य, ज्योति, प्रज्ञाजस्ता पत्रिकाहरूमा आम नेपालीको पहुँच अझै पनि पुग्न सकेको छैन । देशका सबै भागमा ती पत्रिका पढ्न पाइने स्थिति छैन । निजीक्षेत्रबाट नियमित प्रकाशित - रचना, अभिव्यक्ति, जुही, अक्षर, वेदना, जनमत, बगर, सङ्कल्प, संस्कृति, शब्दसंयोजन, भानु, कलम, झिसमिसे, साथी, उन्नयन चिन्तन, राप्तीदूत -दाङ), सगर आदि पत्रिकाहरूले अपेक्षित मात्रामा व्यापकता हासिल गर्न सकेका छैनन् । त्यतिभए पनि साहित्यिक पत्रिकाको प्रकाशनबाट धेरै पाठक, स्रष्टा र द्रष्टाहरू लाभान्वित भएका छन् ।

साहित्यिक-पत्रकारिताका समस्याहरू :

नेपाली साहित्यिक-पत्रकारिताको सामु अनेकौँ समस्याहरू छन् । तिनीहरूमध्ये प्रकाशनका दृष्टिबाट महत्वपूर्ण आर्थिक समस्या हो भने पाठकीय दृष्टिमा निरन्तरता एवं स्तरीयताको समस्या देखापर्दछ । त्यसो त पहिलोलाई लगानीको समस्याका रूपमा र दोस्रोलाई सम्पादनको समस्या भन्न पनि सकिने हुन्छ । पाठकीय रुचिको प्रवर्द्धन, सामग्री चयनको योजना र विषयगत सम्पादनको कुशलताजस्ता कुराहरू पनि समस्या बनेर आएका छन् । सरकारी नीतिको अस्पष्टताले गर्दा उत्पन्न समस्याहरूमा पनि थुप्रै पक्षहरू छन् -विज्ञापन प्राप्त गर्ने समस्या, ढुवानी समस्या, अनुदान र कर छुट गर्ने समस्या, सूचना पत्रकारिताको हाराहारीमा राखेर वर्गीकरण गर्ने समस्या तथा सरकारी संस्था र निजी संस्थाहरूद्वारा प्रकाशित पत्रिकाहरू बीचको अन्तर नदेख्ने समस्या आदि । बिक्री-वितरण प्रवर्द्धनको समस्या दुवै क्षेत्रमा विद्यमान छ । त्यसैले यी समस्याहरूका सम्बन्धमा अलि विस्तारमा छलफल गरिनु उचित हुनेछ ।

आर्थिक समस्या :

आर्थिक समस्या, निजी, संस्थागत र सरकारी प्रकाशनहरूका बीच समान अवस्थामा छैन । गैरसरकारी क्षेत्रका निजी वा व्यक्तिगत लगानीमा सञ्चालित साहित्यिक पत्रिकाहरू र संस्थागत रूपमा प्रकाशित पत्रिकाहरूका बीचमा पनि केही भिन्नताहरू छन् । त्यति भएर पनि आर्थिक समस्या मूलतः सबैतिर लगानीको समस्याका रूपमा रहेको छ । यहाँसम्मकी सरकारी र अर्धसरकारी संस्थाहरूद्वारा प्रकाशित साहित्यिक पत्रिकाहरू पनि घाटामा रहेको हुँदा ँबन्द गर्ने वा चलाउनेभन्ने विषय सधैँ नै छलफलको मुद्दा बन्ने गरेको पाइन्छ । लगानीकर्ताहरू साहित्यिक प्रकाशनमा आकषिर्त हुँदैनन् । राज्यले पनि यस विषयमा यथोचित ध्यान दिएको छैन । अनेकौँ पत्रिकाहरूले लामो इतिहास निर्माण गरेर पनि आफ्नो निरन्तरता राख्न नसक्नुको एउटा मुख्य कारण आर्थिक समस्या नै रहिआएको छ । बिक्री भएका पत्रिकाको भुक्तानी पनि प्राप्त नहुने, छापिएका विज्ञापनको भुक्तानी नपाइने वा समयमा नपाइने, हुलाक र हवाई सेवाले ढुवानी भाडा चर्को गर्नु र छुट नदिनु, कागजको आपूर्तिमा कठिनाइ भोग्नु पनि आर्थिक समस्याकै रूपमा रहेका छन् । त्यसैले आर्थिक समस्या भनौँ वा लगानीको समस्या भनौँ साहित्यिक-पत्रकारितालाई फस्टाउन नदिने पहिलो समस्या यही नै हो । सरकारी क्षेत्रबाट साहित्यिक पत्रकारिताको विकासका लागि विभिन्न पत्रिकालाई सहयोगस्वरूप नेपाल प्रज्ञा-प्रतिष्ठानमार्फत दिइने गरेको वाषिर्क १५ लाख रकम पनि एक वर्षमात्र उपलब्ध गराएर त्यसै थन्किएको अवस्था छ । हाल उक्त रकमलाई घटाउने तथा अन्य शीर्षकमा सारेर खर्च गर्ने काम भएको बुझिन्छ ।

निरन्तरताको समस्या :

आर्थिक स्रोतका अभावमा बन्द हुने अवस्थाका अतिरिक्त बौद्धिक उत्तराधिकारीको अभावमा पनि निजीक्षेत्रका कतिपय पत्रिकाहरू बन्द भएका छन् । हामीहरूले शारदा, रूपरेखा र रत्नश्रीजस्ता पत्रिकाहरूको सम्झना यहीँनिर गर्न सक्छौँ । रूपरेखा र रत्नश्री केही समय शान्ति कुँवर र शान्तदेव भट्टराईले चलाउने प्रयास गरेका थिए र शारदाको हालै पुनपर््रकाशन भएको छ । परन्तु निरन्तरताको समस्या भनेको केवल आर्थिक समस्यासँग मात्र सम्बन्धित नभएर पत्रिकाको समग्र व्यवस्थापन, सम्पादन, प्रभावकारिता, पाठकवृद्धि, स्तरीयता आदि पक्षसँग पनि सम्बन्धित हुन पुग्दछ । यस अर्थमा नेपाली साहित्यिक पत्रिकाको सबैभन्दा ठूलो समस्या स्थायित्व नै हो भन्ने विजय चालिसेको भनाइसँग सहमत हुन सकिन्छ । -विजय चालिसे, साहित्यिक-पत्रकारिताको वर्तमान स्थिति, गोष्ठीपत्र, २०६२) । त्यति भएर पनि कतिपय निजी पत्रिकाहरू निरन्तर प्रकाशित नहुनुमा संस्थागत आधार एवं सञ्चालन अभिभाराको अभाव पनि जिम्मेवार रहेका छन् । त्यसो त आर्थिक आधार बलियो भएमा, सरकारले यथोचित सहयोग प्रदान गर्दै गरेमा, व्यवसायीहरूले विज्ञापन दिइरहेमा, पाठकसङ्ख्या वृद्धि हुँदै गएमा निजीक्षेत्रका सामान्य पत्रिकाले पनि निरन्तरता प्राप्त गर्न सक्लान्, तर यहाँ ती सबैको अभाव नै अहिलेसम्मको अनुभव बनेर बसेको छ । तसर्थ हाम्रो साहित्यिक-पत्रकारितामा निरन्तरताको समस्या प्रारम्भदेखि अहिलेसम्म कायमै रहेको स्थिति छ ।

सम्पादनको समस्या :

साहित्यिक-पत्रकारितामा रहेको अर्को समस्या सम्पादनको समस्या हो । सम्पादन कुशलताको अभावमा ठीकसँग सामग्री चयन हुँदैन । हरेक अङ्कमा के दिने ? कसरी संयोजन गर्ने ? विधागत विषयवस्तु छान्ने, स्तरीयता कायम गर्ने र महत्व दिने कुरा सँगै सम्पादकीयमा कुन मुद्दालाई कसरी उठाउने भन्ने सुस्पष्टता बिना पत्रिकाको सम्पादन सम्भव छैन । सम्पादकीय खुबी पत्रिकामा प्रकट हुन्छ र त्यसले नै पाठकलाई प्रभाव पार्दछ । कुनै एक विधामा केन्दि्रत हुँदैमा पनि स्तरीयता प्राप्त हुँदैन । आएका सामग्रीलाई उनेर, साहित्यिक गतिविधिका समाचार तुनेर अथवा सामान्य भाषिक रेखदेख गर्ने काम गरेर मात्रै सम्पादकको दायित्व पूरा भएको मान्ने हो भने त्यसबाट साहित्यिक-पत्रकारिता कहिल्यै उभो लाग्दैन । हाम्रा साहित्यिक पत्रिकाहरूमा सम्पादनको कुशलता निकै कम मात्रामा देख्न पाइन्छ । योजनाबद्ध लेखन र प्रकाशनको तारतम्य प्रकट गर्ने भानुका विशेष अङ्कहरूले योजनाबद्ध लेखन र प्रकाशनद्वारा नै साहित्यिक-पत्रकारिता समृद्ध बन्दछ भन्ने पुष्टि गरेको छ । यसका लागि भवानी घिमिरेको सम्झना र सराहना गर्नै पर्ने हुन्छ । स्तरीयताको समस्या सम्पादन कलासँग जोडिएको भए पनि त्यो आमस्रष्टाको सञ्चेतना, रचना कौशल र आदर्शसँग जोडिएर रहेको हुन्छ । स्तरीय रचनाको अभाव हुनुको कारणमध्ये कृतिगत मूल्याङ्कन नगर्नु र लेखकलाई पारिश्रमिक नदिनु पनि रहेको छ । प्रत्येक रचनाकारका सिर्जनालाई सम्पादकले परिस्कार गर्ने कार्यकुशलता भैरव अर्यालमा झैँ सबैमा हुँदैन । त्यसकारण सम्पादन कलामा पनि पर्याप्त ध्यान पुग्नु जरूरी छ । पाठकीय रुचिको पहिचान, परिस्कार र प्रवर्द्धनका लागि सम्पादकको दृष्टिकोण, आदर्श र रचनात्मकता महत्वपूर्ण हुन्छ । अन्तरभाषिक आदान-प्रदानको समस्या पनि यहीँनिर सम्झन सकिन्छ । कुशल स्रष्टा र द्रष्टाको सीप सबै सम्पादकहरूमा होस् भन्ने सदिच्छा राख्न सकिन्छ तर त्यो त्यसै प्राप्त हुने कुरा होइन । त्यसका लागि अर्थात् सम्पादन अकुशलताको समस्या हल गर्न समय समयमा तालिम, गोष्ठी विचारमन्थनहरू गरिनुपर्दछ र त्यसबाट निकालिने निष्कर्षहरूलाई साहित्यिक पत्रकारहरूले पालन गर्नुपर्दछ ।

दृष्टिकोणको समस्या :

साहित्य समाजको प्रतिबिम्ब भएकाले साहित्यिक-पत्रकारितामा पनि सामाजिक संरचनाको प्रभाव, प्रतिबिम्ब र विविधता प्रकट हुन्छ । नेपाली समाज लघु-उत्पादन पद्धतिमा कक्रिएको, वैचारिक आदर्शमा पनि सामन्तवाद, पूँजीवाद र समाजवादबीचको प्रतिद्वन्द्वितामाझ हिँडिरहेको र सामाजिकवर्गहरूको चाहना, भावना र हितहरूबीच परस्पर प्रतिस्पर्धा, द्वन्द्व र दमन चलिरहेको कारणले गर्दा हाम्रा साहित्यिक सिर्जनाहरू त्यसबाट प्रत्यक्ष एवं परोक्ष किसिमले प्रभावित हुँदै आएका छन् । विचारधारात्मक सङ्घर्षका शैलीहरू कहिलेकाहीँ अशिष्ट ढङ्गले समेत प्रकट भएका पनि छन् । शासकीय सोचका विपक्षमा रहँदा अभिव्यक्तिमा रोक लागेका थुप्रै घटनाक्रमहरूले हाम्रो साहित्यिक-पत्रकारिताको इतिहास रङ्गिएको छ । प्रारम्भमै ँप्रगतिपत्रिकाले उल्लेख गरेझैँ अथवा ँसाहित्यपत्रिकाले जनाएझैँ मात्र होइन सङकल्प, वेदना र कलमले अघि सारेका आदर्शबीच पनि एक प्रकारको अन्तरद्वन्द्व रहिआएको छ । सुधारको कुरासम्म पनि सुन्न नचाहने यथास्थितिवादी सनातनधाराका विरुद्धमा सुधारवादी नूतनधाराको प्रतिनिधित्व गर्दै युगवाणी, रूपरेखा, भानु, सुस्केरा, प्रलेस, मुक्तिमोर्चा, आदिले अघि सारेका मूल्य मान्यताबाट अघि बढेर वर्गीय दृष्टिकोणकै पक्षधरता अघि सार्ने साहित्यिक पत्रिकाहरूसम्मको विस्तार भएर पनि दृष्टिकोणको समस्या हल हुन अझै बाँकी रहेको देखिन्छ । एउटै धाराभित्र पनि विविधता छन् । वास्तवमा श्रमप्रतिको श्रद्धा, शान्तिका लागि सङ्घर्ष र वैज्ञानिक समाजवादको पक्षपोषण वर्गीय दृष्टिकोणबाट परिभाषित छन् । संस्कृति र कलाको वर्ग चरित्रबारे कुरा गर्दा अझै पनि कतिपय मानिसलाई अनौठो लाग्छ र उनीहरू सबै साहित्य र साहित्यकारलाई प्रगतिशील भन्न रूचाउँछन् । यस प्रकारको दृष्टिकोणद्वारा प्रभावित साहित्यिक पत्रिका, पत्रकार र पत्रकारिताले वैचारिक क्षेत्रमा लोकतान्त्रिक समावेशीकरणलाई स्वीकार गर्दैन । विचारधाराको क्षेत्रमा जनतन्त्र कसरी स्थापित गर्ने ? पञ्चायती असहिष्णुता, सेन्सरसिप, दमन र यातनाको पुनरावृत्तिद्वारा अथवा सहिष्णुता, स्वतन्त्रता, वैचारिक वाद-प्रतिवाद र सहअस्तित्वबोधद्वारा ? त्यसकारण नेपाली साहित्यिक-पत्रकारितामा ऐतिहासिक निरन्तरता कायम राख्दै आएको क्रान्तिकारी प्रगतिशील धारालाई देशको एक सशक्त लोकपि्रय सोचका रूपमा स्वीकार्दै वर्गीय विभेदबाट उत्पन्न विचारधारात्मक बहुलताको समस्यालाई बोध गर्नुपर्दछ ।

नीतिगत समस्या :

साहित्यिक-पत्रकारिताको सन्दर्भमा नेपाल सरकारको नीति सुस्पष्ट छैन । सरकारले संस्कृतिका अङ्गहरूलाई पृथकतामा हेरेर काम गरिरहेको छ । पत्रकारिताकै सन्दर्भमा पनि सूचना पत्रकारिता र साहित्यिक-पत्रकारितालाई पक्षपातपूर्ण व्यवहार गरेको छ । सूचना पत्रकारिताले सरकारलाई अपप्रचारका माध्यमबाट पनि प्रहार गर्न सक्छ तर साहित्यिक-पत्रकारिताले त्यसो गर्दैन । तसर्थ सरकारले यसलाई उपेक्षा गर्दै आएको हो । सुविधाहरू प्रदान गर्दा पक्षपात गरेको कुरालाई साहित्यिक पत्रकारहरूले पटकपटक अघि सारेका मागहरूले दर्शाइरहेको छ । सरकारको नीतिगत अस्पष्टताले गर्दा नै कागज, टेलिफोन, हुलाक दर्ता र आयकरमा दिनुपर्ने न्यूनतम सुविधा पनि साहित्यिक पत्रिकाहरूलाई दिइएको छैन । सूचना पत्रिकारिताको हाराहारीमा राखेर वर्गीकरण गर्ने नीतिले साहित्यिक-पत्रकारिताको विशिष्टतालाई नजर अन्दाज गरेको छ । निजीक्षेत्र, संस्थान र सरकारी प्रकाशनबीचको विभेदलाई बेवास्ता गरिएको छ । कल्याणकारी विज्ञापन पनि पर्याप्त उपलब्ध गराइएको छैन । सरकारी तथा संस्थागत पुस्तकालयहरूमा पनि साहित्यिक पत्रिकाहरू राख्ने, व्यवस्थित गर्ने र खरिद गर्ने काम भएको पाइँदैन । देशभरका कलेज, उच्च मा.वि. तथा मा.वि.का पुस्तकालयहरूसम्म पुग्नुपर्ने साहित्यिक पत्रिकाहरू विश्वविद्यालयका पुस्तकालयमा पनि पुगिरहेका छैनन् न त शिक्षा, सञ्चार संस्कृति मन्त्रालयको नै चासो छ । साहित्यिक-पत्रकारिताका सम्बन्धमा सुस्पष्ट सरकारी नीतिको अभावले गर्दा नै यी सबै समस्याहरू रहेका हुन् । साहित्यिक-पत्रकारितालाई सूचना पत्रकारिताको एक अङ्ग मानेर हेर्ने दृष्टिकोण पनि कतै कतै पाइन्छ । वास्तवमा त्यो सोच सही होइन । बरू साहित्यिक-पत्रकारिताको दीर्घकालीन प्रभावकारितालाई उपयोग गरेर सूचना पत्रकारिताले आफ्नो पाठकवृत्त विस्तार गर्ने अभिप्राय द्वारा साहित्यिक स्तम्भहरू सामेल गर्दै आएको छ । साप्ताहिक परिशिष्ट छापेर वा दैनिक स्तम्भ राखेर खबरपत्रिकाहरूले साहित्यिक रचनाहरू पाठकसामु प्रस्तुत गर्ने काम गरिरहेका छन् । यसबाट के पुष्टि हुन्छ भने साहित्यिक-पत्रकारिताको अभावमा सूचना पत्रकारितासमेत लङ्गडो हुन्छ । डा. तुलसी भट्टराईको शब्दमा भन्दा- "समाचार पत्रिकाहरूले साहित्यिक स्तम्भ र शनिबारे विशेषाङ्कमा कथा कविता, निबन्ध, समालोचना, संस्मरण आदि छापेर साहित्यिक-पत्रकारिताको धर्म समेत लिएका छन् ।" परन्तु सरकारले भने सूचना पत्रकारितालाई मात्र संरक्षण दिने गलत नीति अख्तियार गरिरहेको छ ।

राणाकालीन समयदेखि आजसम्म नै साहित्यिक-पत्रकारितालाई हेर्ने दृष्टिकोणमा खासै परिवर्तन आएको पाइँदैन । साहित्यलाई सोखको उत्पादन ठान्ने सरकारी सोचले गर्दा नेपालको साहित्यिक-पत्रकारिता टाक्सिएको हो । विद्युतीय माध्यमबाट साहित्यिक पत्रिका चलाएर संसारभर फैलाउन सकिने समयमा पनि संस्कृतिलाई अनुत्पादक क्षेत्र ठान्नु ज्यादै दुःखद कुरा हो । वाङ्मय र कलाको फाँट संस्कृतिको क्षेत्रमा पर्दछ । संस्कृतिको क्षेत्र भनेको लामो इतिहास, उपलब्धि र उत्पादकत्व भएको क्षेत्र हो भन्ने तथ्य त हाम्रो जस्तो सानो मुलुकमा विश्वलाई चकित पार्ने थुप्रै विश्वसम्पदा रहनुले नै प्रष्ट पार्दछ । तसर्थ सरकारको अदूरदर्शिता एवं अस्पष्ट नीतिको विरोध सबै साहित्य स्रष्टा-द्रष्टा, कलाकर्मी एवं पत्रकारहरूले गर्नुपर्ने भएको छ । स्वयं साहित्यिक पत्रकारहरू पनि आफ्ना आधारभूत नीतिमा सुस्पष्ट हुनुपर्ने आवश्यकतालाई पनि यहाँ सम्झनुपर्ने हुन्छ ।

Next