Home

Home
इतिहास र वर्तमान  

 

 

 

 

 

 

 

 

 

 

 

 

 
 

नेपालको साहित्यिक-पत्रकारिता : समस्या र समाधान

- विष्णु प्रभात

 

अवधारणा र पृष्ठभूमि :

१. साहित्यिक-पत्रकारिता पत्रकारिताकै एउटा विशिष्ट रूप हो, जसले साहित्यका विविध विधाको अभिवृद्धिका निम्ति स्रष्टाका सिर्जना र द्रष्टाका मूल्याङ्कनलाई संयोजन गरी पाठकहरूमा पस्कन्छ । वाङ्मय, कला र सङ्गीतका क्षेत्रमा योजनाबद्ध वा स्वस्फूर्त ढङ्गबाट सञ्चालित समग्र गतिविधि, साहित्यिक गोष्ठी, सेमीनारहरू वा सम्मेलन, पत्रपत्रिका सम्पादन-प्रकाशन, व्यवस्थापन, साहित्यका समग्र विधालाई समेटेर तिनीहरूको प्रचार-प्रसार गर्ने, पत्रपत्रिका सञ्चालन गर्ने कार्य सँगै समेटिएर आउने सबै प्रकारका बौद्धिक कामहरूलाई साहित्यिक-पत्रकारिताको वृत्तभित्र राख्ने गरिन्छ । त्यसैले समग्र सांस्कृतिक उन्नतिका लागि वाङ्मयका विविध विधामा विभिन्न भाषाको माध्यमबाट अभिव्यक्त हुने सिर्जनात्मक, शोधपूर्ण एवं मूल्याङ्कित लेखनलाई सुव्यवस्थित सम्पादन, प्रकाशन र प्रसारण व्यवस्थाद्वारा परिचालन गर्ने कलालाई साहित्यिक-पत्रकारिता भनिन्छ । नेपाली पत्रकारितामा पनि सूचना पत्रकारितासँगै साहित्यिक-पत्रकारिताको समानान्तर विकास हुँदै आएको छ ।

नेपाली पत्रकारिताको विकास साहित्यिक-पत्रकारिताबाट सुरू भएको हो भन्ने अभिमत पनि हामी बीच छ

-शिव रेग्मी, 'साहित्यिक-पत्रकारितागरिमा, समालोचना विशेषाङक्, २०५१ पृ. २२९) । गोरखापत्रबाट प्रारम्भ भएको सूचना पत्रकारिता प्रमाणित छ भन्ने धारणा पनि हामी बीचमै छ । -डा. तुलसी भट्टराई, साहित्यिक-पत्रकारिताः सम्भावना र चुनौती -लेख), पृ.४) । यस विषयमा थप अनुसन्धानको खाँचो छ । किनभने एक शताब्दीभन्दा लामो इतिहास उल्लेख गर्दै नेपाली साहित्यिक-पत्रकारिताको प्रारम्भ वि.सं. १९५५ मा प्रकाशित सुधासागरबाट भएको भनिए पनि त्यसको प्रामाणिक प्रति उपलब्ध छैन । साहित्यिक पत्रिकाको प्रामाणिक आधार वि.सं. १९९१ मा प्रकाशित ँशारदाले प्रदान गर्दछ । त्यसपछि नै उद्योग -वि.सं.१९९२) साहित्य स्रोत -२००४), आँखा -२००५) पुरुषार्थ -२००६), भारती -२००६) जस्ता पत्रिकाहरू प्रकाशित भएको र २००७ सालपछि यसको तीव्र विकास देखापर्दछ ।

२. नेपाली साहित्यिक-पत्रकारिताको इतिहास र वर्तमान दुवै नै राष्ट्रिय एवं अन्तराष्ट्रिय स्वरूप र चरित्रमा प्रवाहित रहेको छ । नेपालीय नेपाली धारासँगै भारतीय नेपालीधाराको समानान्तर प्रवाहमा गतिशील साहित्यिक-पत्रकारिताले नेपाली भाषा, साहित्य र कलाको विकासमा महत्वपूर्ण योगदान दिएको भए पनि राष्ट्रिय सन्दर्भमा नेपाली साहित्यिक-पत्रकारिता र भारतीय नेपाली साहित्यिक-पत्रकारितालाई पृथक् पृथक् अस्तित्वमा देख्नुपर्दछ । दुवैधारालाई एउटै ठान्ने वा मान्ने धारणा उचित देखिँदैन । भारतीय नेपाली साहित्यिक-पत्रकारिताको प्रारम्भ वि.सं. १९४८ मा प्रकाशित ँगोर्खा भारत जीवनसँग जोड्ने गरिन्छ । यद्यपि त्यसको पनि प्रमाणिक प्रति उपलब्ध छैन । बरू वि.सं. १९६६ को गोर्खा खबर कागजलाई पो मान्नुपर्ने हो कि ? जेहोस् यी विस्तृत शोधकै विषय हुन् । चन्दि्रका -वि.सं.१९७४) आदर्श -१९८७) नेपाली साहित्य सम्मेलन पत्रिका -१९८९) नेबुला -१९९३), गोर्खासंसार -१९८३) आदि भारतीय नेपालीहरूद्वारा प्रकाशित पत्रिका हुन् । जहाँसम्म प्रवासमा रहेका नेपालीहरूद्वारा नेपालकै भाषा, साहित्य र समाजको उत्थानका लागि गरिएका प्रयास एवं प्रकाशनहरूको सन्दर्भ छ, त्यसलाई यथोचित गणना र मूल्याङ्कन गर्नु नै उचित हुनेछ । सुन्दरी -१९६३) माधवी -वि.सं. १९६५), चन्द्र -१९७१), जन्मभूमि -१९७९), उदय -१९९३), र युगवाणी -२००४) जस्ता पत्रिका भारतीय नेपालीद्वारा प्रकाशित नभै बनारस प्रवासमा रहेका प्रवासी नेपालीहरूद्वारा प्रकाशित हुन् ।

३. प्रारम्भिककालदेखि नै नेपाली साहित्यिक-पत्रकारिता विचारधारात्मक पृथकतामा प्रवृत्तिगत पहिचान निर्माण गरेर हुर्केको छ । खासगरी यथास्थितिवादी र सुधारवादी सोचसँगै आमूल परिवर्तनका निम्ति सामाजिक जागरणलाई टेवा दिने विचार प्रवृत्तिले नेपालको साहित्यिक-पत्रकारितालाई तीन मूल प्रवृत्तिमा हुर्काएको छ ।

Next