|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


नेपालमा अल्पसङ्ख्यक विभिन्न जातजातिहरुको अध्ययन अनुसन्धान भए पनि आफ्नो छुटृै संस्कृतिका माध्यमबाट सामाजिकरुपमा अलग जीवनयापन गर्दै आएका काठमाडौँ आसपास मुख्य वासस्थान भएका बलामी जातिको आजसम्म पनि कुनै अध्ययन तथा अनुसन्धान भने हुन सकेको छैन ।
आजका दिनसम्म कुनै पनि अध्ययन अनुसन्धान हुन नसक्नु र जनजातिको अनुसन्धानमा समेत बलामी जातिको पहिचान हुन नसक्दा काठमाडौँ र यस आसपास नै मुख्य वसोवास भएका बलामीहरुलाई आज आफ्नै पहिचानको खोजीमा हिड्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।
चित्लाङ, कुलेखानी, हेटौँडा, फर्पिङलगायतका सिमित स्थानमा परापूर्वकालदेखि वसोवास गर्दै आएका अल्पसङ्ख्यक यी जाति आफ्नो जातीय पहिचान तथा संस्कृति अझैँ पनि ओझेलमा नै परिरहेको बताउँछन् ।
बलामी शब्द भलादमी, बाँलापीबलापीँ शव्दबाट अपभ्रम्स भई आएको हुनसक्ने भए पनि त्यसका सम्बन्धमा हालसम्म कुनै तथ्य भने फेला पर्न सकेको छैन । सबैसँग मिलेर जीविकोपार्जन गर्ने इमान्दार र लगनशील स्वभावको कारण भलादमी अनुहार तथा शारिरीक बनोट चिटिक्क मिलेकाले बाँलापी अर्थात राम्रो अर्थमा बलामी भनिएको हुनसक्ने नेपाली विषयका शिक्षक नारायणकुमार बलामी बताउनुहुन्छ ।
शारिरीकरुपमा बलिया, कर्तव्यनिष्ठ रहेकोले युद्धकालमा काठमाडौँ उपत्यकाको सुरक्षाका लागि उपत्यकाका विभिन्न्न नाका चित्लाङ, कुलेखानी, फर्पिङ, छैमले, फुल्चोकी, टल्कु, सीतापाइला, थानकोट, बालाजु, कागती गाउँ, फूलवारी, दाप्चा आदि ठाउँहरुमा परापूर्व कालदेखि हालसम्म बसोवास गर्दै उपत्यकालाई सुरक्षा प्रदान गर्दै आएका बलापी अर्थात बलिया भनिएको हुनसक्ने र त्यसका आधारमा बलामी भनिएको हुन सक्ने अर्का शिक्षक हेमबहादुर बलामीले बताउनुभयो ।
काठमाडौँ उपत्यका आसपासमा रहेर पनि हालसम्म जातीय पहिचान तथा संस्कृतिको प्रचारप्रसार गर्नसमेत नसकेका बलामीहरु परापूर्व कालदेखि आफ्नो विद्यमान संस्कृतिलाई हालसम्म पनि जगेर्ना गर्दै आएका छन् । अन्य जातजातिले जस्तै विवाह, नामकरण, संस्कार आदि जन्मदेखि मृत्यु पर्यन्त गर्ने आफ्नै भिन्न्ा प्रकृतिका संस्कारहरुलाई निरन्तरता दिँदै आएका यिनीहरुले अन्य विभिन्न चाडपर्वहरुलाई आफ्नै किसिमबाट मनाउँदै आएका छन् ।
विवाहः
बलामीहरुको विवाह मागी विवाह नै हो । यस जातिमा मागी विवाहको प्रक्रिया ज्यादै लामो हुने गर्दछ । विवाहको मध्यस्तकर्ता -लमी)ले कुरा ओहोर दोहोर गर्ने गर्दछन् । विवाहमा जन्ती जाँदा दुलाहा नलगे पनि हुन्छ । यो नै बलामी जातिको विवाहका सन्दर्भमा मौलिक पहिचान हो । तर पछिल्लो समयमा आएर अन्य जातजातिको प्रभावले यो मौलिकपना विस्तारै प्रभावित हुँदै गएको छ । बलामीको विवाहको प्राचीन संस्कार धेरैजसो रातमा हुनेगर्छ र जन्तीको स्वागत सत्कार मसला र चुरोटबाट गर्ने गरिन्छ ।
नामकरणः
नामकरणका सम्बन्धमा पनि अन्य भन्दा यो जातिमा छुट्टै किसिमको संस्कृति पाइने गर्दछ । यस जातिमा बालक जन्मेपछि पाँच दिनमा चोख्याउने गरिन्छ । छैटौँ दिनमा -खुनुकुनु ) चोख्याएमा -खुँ) अथवा चोर हुने विश्वासका कारण पाँचौँ दिनमा सुतक चोख्याइने र १२ औँ दिनमा न्वारन गर्ने गरिन्छ ।
नामकरण गर्दा शिशुको नाम घरका अभिभावकले राख्ने र चिनाको नाम ज्योतिषीले राख्ने प्रचलन भए पनि अन्य जातिहरुको जस्तो सुतक चोख्याएको दिनमा नै नामकरण गर्नुपर्छ भन्ने बाध्यता भने छैन ।
संस्कारः
बलामी जातिमा छोराको न्वारन, अन्नप्राशन, ब्रतबन्ध, लगौँटी दिने, विवाह, जङ्कु र मृत्यु संस्कार गरी सातवटा संस्कार गरिने चलन छ । लगौँटी दिँदा १२ वर्षको उमेरमा दिइन्छ । छोरीको भने न्वारन, अन्न प्राशन,गुन्यौचोली दिने ,विवाह, जङ्कु र मृत्यु संस्कार गरी छ वटा संस्कार गरिन्छ ।
यस जातिको परिवारमा सदस्य थपिँदा छोरा पाएमा वा छोरी पाएमा कुलदेवताको पूजा गरी आफ्ना बन्धुबान्धव, इस्टमित्रलाई सगुन खुवाउनुपर्ने प्रचलन रहिआएको छ । परिवारको सङ्ख्या थपघट भएमा कुलदेवताको पूजा गर्ने परम्परा यस जातिको मौलिक साँस्कृतिक परम्परा हो । मतवाली जातका रुपमा लिइने यस जातिको धार्मिक चाडपर्व र पितृकार्यमा देवतालाई मदिरा चढाउने प्रचलन पनि रहेको छ ।
अन्तिम संस्कारः
बलामीको मृत्यु संस्कारमा गुठीको अत्यन्त महत्व भएको पाईंन्छ । बलामी जातिका कुनै मानिसको मृत्यु भएमा आफ्नो छरछिमेकको सामूहिक गुठीमा खबर गर्नुपर्ने र गुठीले नै लासको अन्तिम संस्कारका लागि सबै कार्य गर्ने प्रचलन रहेको छ । परापूर्वकालमा मलामीहरुलाई लास जलाएर घर फर्केपछि चिया, रोटी, अदुवा र जाँड खुवाउने प्रचलन रहेको भए पनि हाल आएर विस्तारै त्यस्तो प्रचलन हराइसकेको बलामी जातिका वृद्धवृद्धाहरु बताउँछन् । यस जातिको किरिया दस दिनसम्म बस्ने चलन छ भने मृत्यु भएको सातौँ दिनमा चेलीबेटी चोख्याउने र दसौँ दिनमा दाजुभाइ चोख्याउने र त्यस दिनमा गुठीका दाजुभाइ बोलाएर भात खुवाउने चलन रहेको छ ।
जात्रा तथा चाडपर्वहरुः
बलामीहरुले एक वर्षभरिमा विभिन्न किसिमका चाडपर्वहरु मनाउने गर्दछन् । यिनीहरुले मनाउने चाडपर्वहरुको तौरतरिका अन्य जातिको तुलनामा अत्यन्त भिन्न भएको पाउन सकिन्छ ।
खाईसन्दु ( वैशाख सङ्क्रान्ति)
प्रयेक नयाँ वर्षको पहिलो दिन -वैशाख सङ्क्रान्ति)मा नजिकका तीर्थस्थलहरुमा गई पूजाआजा गरी परिवार तथा साथीभाइहरु सँगसँगै बसी सकेसम्म नयाँ तथा मीठो परिकार खानेगर्दछन् ।
द्यौपूजा (देवाली पूजा)
बलामीहरुले वैशाख महिनाको अक्षय तृतीया वा त्यसपछिको पहिलो आइतबार वा बिहीबारका दिन सबै दाजुभाइ मिली कुलदेवताको पूजा गर्ने गर्दछन् । विशेषतः महालक्ष्मी र लक्ष्मीलाई कुलदेवताको रुपमा पूजा गर्ने यिनीहरु यस दिन स्यावजी, चटामरी, अदुवा, सिद्राजस्ता विभिन्न प्रकारका तरकारी र मासुसहित भोजन गर्नेगर्दछन् ।
सिःनख (सिठीनख)
गहुँ भित्रयाएपछि गहुँ चढाउने पर्वको रुपमा यस दिन विभिन्न परिकारका रोटी तयार गरी विभिन्न इष्टदेवताको पूजा गरी सबैले खाने र आफ्ना चेली तथा आफन्तजनहरुलाई बोलाएर नखः खुवाउने चलन बलामीहरुको छ । घरमा भण्डार रित्तिँदै जाने नख भएकाले यस नखलाई अन्तिम नखः वा सिः नख भन्ने गरिन्छ ।
झाडिको (साउने सक्रान्ति)
मुठी खाएर मुरी कमाउने समयका रुपमा लिइने असार महिनाभर काम गरी सकेर यस दिन नुहाई हिलो फाल्ने र इष्टदेवताहरुको पूजा गरी मीठो मीठो खाने गरिन्छ । झाडिको भन्नाले आराम गर्ने र मीठो खाने बुझिने भएकोले यस पर्वलाई झाडिको भन्ने गरिएको हो ।
गठेमङ्गलः
यस दिन घर आगन सफा गरी बेलुकी उन्यु, भसिङ्गरे, छ्वाली आदि बाली साँझमा लुतो फाल्ने चलन छ । पहिले पहिले रोग नलागोस् भनी फलामको औँठी बनाई लगाउने चलन चल्दै आएको बलामी बूढापाकाहरु बताउँछन् ।
जनैपूणिर्मा / गाईजात्राः
बाली लगाउने क्रममा मारिएका कीटपतङ्गहरुलाई भात तथा क्वाँटी खेतबारीमा चढाउने यस पर्वमा घर आगन सफा गरी पूणिर्माको दिन सबेरै इष्टदेवताको पूजा गरी खेतबारीमा पुराउने र ब्राहृमणलाई सिदा दिने चलन छ । बाली लगाउने क्रममा मारिएका कीटपतङ्गलाई भात तथा क्वाँटी चढाउने यो जातिको अन्य जातिभन्दा छुट्टै संस्कृति हो । पूणिर्माको भोलिपल्ट आफ्नो गुठीभित्रका एक वर्षअघि मृत्यु भएका मृतकका परिवारलाई दुःखबाट मुक्त गराउने उद्देश्यका साथ स्थानीय चोक तथा मृतकको घरमा स्थानीय बाजाका साथ गाईजात्रा देखाउने तथा नचाउने प्रचलन पनि छ ।
यस्ता चाडपर्वका साथै बलामीहरुले कृष्णाष्टमी, दसै तिहार, योमरी पुन्ही -मङ्सिर पूणिर्मा), हामोसँलु -माघेसङ्क्रान्ति ) तथा सरस्वती पूजालाई पनि आफ्नै संस्कृति मानी मनाउँदै आएका छन् ।
नेपाललाई सङ्घात्मक राज्यका रुपमा विकास गर्ने बहस चलिरहेका अवस्थामा काठमाडौँ आसपासका क्षेत्रमा नै मूख्य बसोवास भएका अल्पसङ्ख्यक बलामीहरुको कुनै पहिचान नै नहुदा जातीय संस्कृति नै ओझेलमा परिरहँदा यसले आफूहरुलाई अत्यन्त चिन्तित बनाएको बताउने देवबहादुर बलामीले जातीय पहिचान, संस्कृतिको जगेर्नाका साथै बलामीहरुको जातीय हकहितका लागि पनि सम्पूर्ण बलामीहरु एकजुट बन्न अपरिहार्य भएको बताउनुभयो ।
| तपाईको प्रतिक्रिया | |
|
|