|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


यमपञ्चक (तिहार)को चौथो दिन अर्थात् कात्तिक शुक्लपक्षको प्रतिपदा तिथिमा नेवार समुदायद्वारा मनाइने \\\"म्हः पूजा\\\" नेपाली चाडपर्वमा अद्वितीय र विशिष्ट रहिआएको छ।
विभिन्न जातिअन्तरजातिमा विभाजित नेवार समुदायमा सबै चाडपर्व समानरुपमा नमनाइए पनि म्हः पूजा सबै नेवारद्वारा स्वीकारिएको छ ।
म्हः पूजाको नामकरण नेपाल भाषाको म्हः र पूजा यी दुईवटा शब्दबाट हुन गएको छ । म्हः को अर्थ नेपालीमा शरीर हो । यसको समग्र अर्थ शरीरको पूजा हो ।
शरीरको सेवाबाट स्वस्थ र पवित्र बन्न सकिने दृष्टिकोण र यो समग्र सृष्टि परमात्मा-परमेश्वरको हो भन्ने सर्वात्म भावले आफ्नो शरीरलाई पनि परमात्मा मानेर आफूले आफूलाई आराधना गरी \\\'म\\\' र \\\'परमात्मा\\\' बीच कुनै अन्तर नभएको महसुस गर्दै शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष रहेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय संस्कृत विभागका सहप्राध्यापक डा.ऋषिप्रसाद शर्मा विश्वास राख्नुहुन्छ ।
डा.शर्मा विश्व ब्रहृमाण्डकै स्वरुप रहेको मानवशरीरमा सबै प्रकारका धर्म र कर्मप्राप्तिका प्रमुख साधन रहेकाले विश्वका सबै धर्मले यस शरीरलाई ईश्वरसँग भेट्ने र ईश्वरलाई बुझ्ने मन्दिरका रुपमा उपयोग गरेको बताउनुहुन्छ ।
शरीरभित्र समग्र देवता, शक्ति, विश्व ब्रहृमाण्ड र परमेश्वरको बास हुने मान्यता राख्ने डा.शर्माले आफूलाई चिनेरबुझेर आफ्नो उद्धार गर्न आफू नै अघि सर्नुपर्ने सम्बन्धमा वेद, गीता, उपनिषद्, पुराण, बौद्ध दर्शन, जैन दर्शन, नेपाली, नेपालभाषा वाङमयका साथै कुरान, बाइबल, आदि सबै धर्मग्रन्थसमेतमा एकमत भएकाले आत्मोद्धारका लागि प्रेरक पर्व म्हः पूजा मनाउन अनिवार्य भएको बताउनुभयो ।
म्हः पूजा कहिलेदेखि प्रारम्भ भएको हो भनेर यकिनका साथ भन्न नसकिए पनि एकपटक नेवार समुदायमा ठूलो दैवी -प्राकृतिक) प्रकोप परेकाले धेरै मानिसको क्षति हुन गएको र त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याइएको विश्वास पनि गरिन्छ ।
स्वस्थ शरीरद्वारा नै सबै प्रकारका धार्मिक, सांस्कृतिक, सामाजिक, राजनीतिक आदि कर्म गर्नसकिने मान्यता राख्नुहुने त्रिवि केन्द्रीय बौद्ध अध्ययन विभागका प्रमुख सहप्राध्यापक डा.मिलन शाक्य यो यमपञ्चकसँग जोडिएकाले पनि यसको प्रारम्भ यमपञ्चकको सुरुवातसँगै भएको अनुमान गर्नुहुन्छ ।
डा.शाक्यले स्वस्थ शरीरभित्रको स्वस्थ मनबाट मात्र ब्रहृमको चिन्तन सम्भव भएकाले त्यसको प्राप्तिका लागि शरीरलाई शुद्ध बनाएर मनलाई स्थिर राख्नका निमित्त यो पूजा गर्ने गरेको बताउनुहुन्छ ।
शरीरको अभावमा कुनै पनि विषयवस्तुको अस्तित्व नरहने हुँदा शरीरप्रति विशेष आस्था र भक्ति प्रकट गरिने म्हः पूजालाई वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी नेवार समुदायमा पास्नी गरेपछि नमरुन्जेल उसको मर्यादाक्रमअनुसार गरिने पूजा भएको बताउनुहुन्छ ।
जोशी शरीरप्रति रहेको चैतन्य -चेतना) तत्वलाई प्रतिनिधित्व गराइने गरी करिब दश इन्च लामो बत्ती बाली तान्त्रिक विधिले शरीरको आराधना गरी प्रज्वलित दीपलाई मानवदेहसँग परिकल्पना गर्ने गरिएको बताउनुहुन्छ ।
जोशी भन्नुुहुन्छ- म्हः पूजा गर्नका निमित्त बाहुन पनि नचाहिने तथा शुभसाइत पनि हेराउन नपर्ने भएपनि मण्डलको निर्माण गरी ब्रहृमा, विष्णु, महेश्वर, यमराज, यमुनाका साथै विभिन्न फूल अक्षतालगायत सयपत्री फूलले पूजा गरिने म्हःपूजामा विशेषतः आफूले आफूलाई वास्तविक -यथार्थ) धरातलमा महसुस गरिन्छ ।
बौद्ध सम्प्रदायभित्रका नेवार समुदायले पनि आफ्नो शरीरको विशेष पूजा गर्ने गरेको पाइन्छ । यस सम्प्रदायले गर्ने म्हःपूजाको स्रोत उही भएपनि पूजाको शैली भने केही फरक छ । यस सम्प्रदायअन्तर्गत विभिन्न नौ किसिमका बिही -गेडागुडी) को प्रयोग गरी मण्डल निर्माण गरिन्छ । सौर्यमण्डल गोलो भएकाले सोहीअनुरुप विश्व ब्रहृमाण्डलाई प्रतिनिधित्व हुने गरी मण्डल निर्माण गरिएको हुन्छ ।
बौद्ध पुरोहित फणीन्द्र बज्राचार्य त्रिरत्न -बुद्ध, धर्म, सङ्घ), यमराज, कुलदेवताको आराधना गर्दै दशै दिशाका लोकपालको पनि म्हःपूजा गर्दा पूजा गरिने परम्परा रहेको जानकारी दिनुहुन्छ ।
त्रिरत्न र दशलोकपालको पूजापश्चात् घरको मूलीले अनिवार्य पूर्वदिशातिर फर्केर म्हःपूजा गर्ने र अरु सदस्यले आफ्नो अनुकूलअनुसारको आसनमा रहेर शरीरको पूजा गर्न सकिने बज्राचार्य बताउनुहुन्छ ।
मण्डलको दाहिनेतर्फ विशेष तरिकाले गरिएको लामो धागोको तेल बत्ती -खेलुइता)लाई म्हः पूजाको आदिदेखि अन्त्यसम्म -समापनसम्म) अविच्छिन्नरुपमा बलिरहन दिनुपर्ने हुन्छ ।
| तपाईको प्रतिक्रिया | |
|
|