|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |



यति बेला काठमाडौंमा डेनिस राइटर एसोसिएसनका उपाध्यक्ष सेली आफ्ना अन्य दुई सहकर्मी साथीहरुको साथमा नेपाली बालसाहित्यकारहरुसँगको छलफलमा व्यस्त छन् । नेपाल बालसाहित्य समाजको निमन्त्रणामा आएका उनी कसरी बालसाहित्यको क्षेत्रमा जानकारीमूलक पुस्तक लेख्ने भन्ने कुराको जानकारी दिन प्रयासरत छन् ।
यसै सन्दर्भमा गत वैशाख १६ गते आइतबार राष्ट्रिय पुस्तकालयको हलमा सहकर्मी इंगरको साथमा \'फ्याक्ट बुक्स फर चिल्ड्रेन\' विषयक छलफलमा सेली पनि उपस्थित थिए ।
छलफल गोष्ठी सामान्य ढंगले चलिरहेको थियो । तर सहभागी एकजना मित्रको एउटा प्रश्नले हलचल पैदा गर्यो । प्रश्न थियो- नेपाली बालसाहित्यले अल्पसंख्यक पिछडिएका वर्गको खिल्ली उडाइरहेको छ, यो पक्ष अब सुधि्रनु पर्छ कि पर्दैन ? किन साहित्यमा तल्लो जात नोकर भएको, अपाङ्ग अपहेलित भएको देखाउने ? फेरि हाम्रा कथामा प्रयोग हुने यस्ता वर्गलाई होच्याउने खालका उखान टुक्का राख्न पनि तुरुन्त बन्द गरिनु पर्छ कि पर्दैन ? आदि इत्यादि ।
वास्तवमा नयाँ नेपालमा कस्तो बालसाहित्य लेखिनुपर्छ भनेर सोचविचार गरिरहेको म जस्तो बालसाहित्यको विद्यार्थीको मनमा यो प्रश्नले निकै उद्वेलित गरायो । म सोच्न बाध्य भएँ । अब नयाँ नेपालमा बालसाहित्य कसरी लेखिनुपर्छ त ?
प्रश्न आफैंमा गम्भीर छ । यसको उत्तर पनि यस्तै हुनुपर्छ भन्ने सहज छैन । तथापि अब हाम्रो लेखनमा विचारले भने ठूलो फड्को मार्न सक्नुपर्छ । हामीले श्रम र पसिनालाई पूजा गरेर बालसाहित्य लेख्नुपर्छ । काम गर्ने ठूलो, बसी बसी खाने सानो र लाछी हो भन्ने सन्देश अब हामीले नयाँ ढंगले दिनुपर्छ । किनकि हाम्रा उखानहरु पुराना विचारका जर्जर आस्थाहरु हुन् ।
तिनमा दलित, उत्पीडित वर्गलाई सधैं होच्याइने -डोमिनेटिङ) पात्रको रुपमा प्रस्तुत गरिएको छ । मधेसका मधेसी दाजूभाइलाई मदिसे भनेर चोर्ने र फट्याइँ गर्ने रुपमा प्रस्तुत गरिएको छ । दलित दाजुभाइलाई अपहेलित र दास पात्रको रुपमा चित्रित गरिएको छ । त्यसैले अब लेखिने बालसाहित्यमा जातजाति, धर्म, सम्प्रदाय र क्षेत्रका आधारमा कुनै पनि पात्रलाई अवहेलित गरी प्रस्तुत गरिनु हुँदैन । उनीहरुलाई उनीहरुको स्थान विशेषको चरित्रका आधारमा उनीहरुको प्रेरणादायी चरित्रको पक्षलाई जनसमक्ष ल्याइनुपर्दछ ।
यस सम्बन्धमा मेरो एउटा तीतो अनुभव छ । मेरो साथी व्रम्हनारायण साहको ९ वर्षको छोरोले मलाई अस्ति उनको घरमा जाँदा प्रश्न गर्यो । अंकल हामीलाई किन मदिसे भनेको ? मैले त्यो बालकको अवोध मुहारमा हेरें । ऊ एकजना वरिष्ठ बालसाहित्यकारको कथाकृति पढिरहेको थियो । सो पुस्तकको एउटा कथामा मदिसेले बच्चा चोरेर लैजान्छ भन्ने प्रसंग रहेछ ।
त्यति बेला मैले त्यो अवोध बालकलाई केही जवाफ दिन सकिनँ । तर मनमनै सोचे काठमाडौंको बोर्डिङ स्कुलमा पढ्ने मधेसको बच्चोलाई साथीहरुले किन मदिसे भन्छन् ? म पनि मधेसकै हुँ । यदाकदा काठमाडौंवादको शिकार म पनि भएको छु । तर मलाई आफ्नो भन्दा त्यो बालकको पीडा गहिरो लाग्यो । मैले उसलाई दिने उत्तर पाइनँ । तर मैले उसको यो प्रश्नबाट एउटा पाठ भने अवश्य सिकें । आज मधेसी र पहाडी बीचको आपसी द्वन्दको आन्दोलनलाई यो परिस्थितिमा पुर्याउन हामी साहित्यकारहरु पनि उत्तिकै जिम्मेवार रहेछौं नेताहरु जत्तिकै । हामी भित्र रहेको संकुचित धारणा र दास मनोवृत्तिका कारणले गर्दा हामीले यी अल्पसंख्यकहरुको मानमर्दन गर्दै थुप्रै लेखेछौं । हामीले यति लेखेछौं कि हाम्रो नयाँ पीढि पनि त्यसैमा अभ्यस्त हुन थालेछ । फलस्वरुप आज एकातिर पुरानै दास मनोवृत्तिको पीढि हुर्किएछ र अर्कोतिर आफूलाई अपहेलित महसुस गर्ने मेरो साथीको जस्तै परिवेशका छोराहरु ठूला भएछन् । तिनको पीडा अहिले विद्रोहको रुपमा सडकमा निस्किरहेको छ ।
त्यसैले अब हामी साहित्यकारले नयाँ सोचमा लेख्न थाल्नुपर्छ । हामी आफ्नो लेखनमा समाजको यथार्थ चित्रण गर्ने नाममा मधेस र पहाडलाई अवहेलित गर्छौ । दलित र गरिबको मानमर्दन गर्छौ । अब त्यो प्रथा रोकिनुपर्छ किनकि साहित्यले समाजको सिर्जनात्मक प्रगतिमा साथ दिनुपर्छ, विध्वंसात्मक परिस्थितिको बीजारोपण गर्ने होइन । तसर्थ अब लेखिने बालसाहित्यमा मान्छे मान्छे बीच विभाजनका रेखाहरु कोरिनुहुन्न । एउटा फराकिलो क्षितिज निर्माण गरिनुपर्छ । श्रम गर्ने र पसिना बगाउने एवं आफ्नो कर्मप्रति लगनशील मान्छे नै सर्वश्रेष्ठ मान्छे हो भन्ने निचोड दिनुपर्छ, जाली, फटाहा र वुद्धिको दुरुपयोग गरेर फाइदा लुट्नेको वाहवाही गरिनुहुन्न । कालो, सेतो, रातो, खैरो मान्छे जे जस्तो रंगरुपको भए पनि, हिमाल, पहाड, तराई, मधेस जो जता रहे पनि यी सबै नेपालीको देश नेपाल हो । यी सबै क्षेत्र, वर्ग, सम्प्रदाय र परिवेशका मानिसहरु मात्र नेपाली हुन् भन्ने भावना हाम्रा बालबालिका लाई हामीले दिन सक्नुपर्छ । नयाँ नेपालको निर्माणमा हामी बालसाहित्यकारहरुका लागि यो एउटा चुनौतीपूर्ण दायित्व हो । यसलाई हामीले पूरा गर्नैपर्छ । अनि मात्र हामीले नयाँ नेपाल निर्माणका लागि योगदान दिएको ठहरिनेछ । यस तर्फ आजैबाट हाम्रा लेखकहरु सजग रहनु नै नयाँ नेपाल प्रति बफादार भएको मानिनेछ । यिनै बफादार लेखकबाट नै नयाँ नेपालको निर्माणका लागि नयाँ युगको बालसाहित्य लेखिनेछन् ।
| तपाईको प्रतिक्रिया | |
|
|