|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


पत्रकार, गीतकार र अन्वेषक शुभ मुकारुङद्वारा सम्पादित तथा सङ्कलित \'कथा ढुङ्गैढुङ्गाको’ नामक कृति प्रकाशित भएको छ । जुन किराँतीहरूको लोककथामा आधारित छ । पञ्चकुमारी मुकारुङ राई स्मृति केन्द्र, पाँचथरद्वारा प्रकाशित यस पुस्तकले परम्परागत रूपमै किराँतीहरू प्रकृतिप्रेमी र मानव समाजको निर्माणमा जोड दिन्थे र प्रकृतिलाई आराध्यदेवको रूपमा प्रस्तुत गर्थे भन्ने आस्थापुञ्जलाई झङ्कृत पारेको देखिन्छ ।
सृष्टिको प्रारम्भदेखि नै ढुङ्गासँग किराँतीहरूको गहन सम्बन्ध रहेको लोकतथ्य सो पुस्तकले सार्वजनिक गरेको छ । उनीहरूले चुला ढुङ्गालाई पूजापाठ गरी आफ्नो हृदय र मस्तिष्कलाई प्रस्फुरित गर्ने गरेको पाइन्छ । चुला ढुङ्गालाई सृष्टि ज्ञान, सुख ऐश्वर्य आदिको रूपमा पनि ग्रहण गरिएको छ । प्रत्येक वस्तु र विषयसँग केही न केही कथाहरू जोडिएका हुन्छन्, त्यसको प्रभाव, मूल्याङ्कन र आस्थाको विषय फरक हुने गर्छ, उनीहरूले ढुङ्गालाई प्राकृतिक-आध्यात्मिक चिन्तनको आधारमा उभ्याएका छन् ।
पुस्तक तयार पार्नुको प्रसङ्गमा आफ्नो भूमिकाभित्र शुभ भन्छन् - \'कथा ढुङ्गाको हो । यद्यपि, यहाँ समेटिएका प्रत्येक ढुङ्गाका कथाहरू फरक-फरक छन् । यसर्थ, म के आशा राख्दछु भने - यो पुस्तकबाट पाठकले किराँत जाति र उनीहरूको संस्कृतिसम्बन्धी केही न केही जानकारी पाउन सफल हुनुहुने नै छ । विशेष गरी नयाँ पुस्ता, जो उनीहरू सहरीकरण हुँदै विज्ञानको संसारमा दौडिरहेछन् । उनीहरूले कुनै दिन आ-आफ्नो थातथलोप्रति बुझ्नुपर्ने र जानकारी राख्नुपर्ने अवस्थाहरू दोहोरियो भने केही हदसम्म भए पनि यिनै कथाहरू उपयोगी होलान् भन्ठानेको छु ।\'
किराती लोककथामा आधारित खेवा ढुङ्गा, आकाशबाट झरेको ढुङ्गा, भालु ढुङ्गा, तान बुन्ने ढुङ्गा, बिजुवानी ढुङ्गा, जन्ती ढुङ्गा, खमाही ढुङ्गा, मृतात्मा ढुङ्गा, सुँगुर ढुङ्गा, अजिङ्गरे ढुङ्गा, बूढाबूढी ढुङ्गा, आरान ढुङ्गा, टोपी ढुङ्गा, डण्डीबियो ढुङ्गा र गुलेली ढुङ्गाको व्याख्या गरिएको छ । यी किराँती लोककथाहरू निक्कै कर्णप्रीय र रोचक देखिन्छन् । यस्तै प्रकारको खोज-अनुसन्धानमा लागिरहने हो भने शुभ मुकारुङको भविष्य उज्ज्वल देखिन्छ । हुन त उनी हस्तसिद्ध गीतकार पनि हुन्, गीतका पुस्तक प्रकाशित भइसकेका छन् । गीति एल्बम तथा सीडीहरू बजारमा आइसकेका छन् ।
यसको अलावा लेखक-पत्रकार पनि हुन् । अहिले उनी आफ्नो जातीय पहिचान खोज अनुसन्धानमा लागिपरेका छन् । उनले \'कथा ढुङ्गै ढुङ्गाको’ लोककथालाई सबै मानव समुदायमा पुर्याउने जुन कोसिस गरे, त्यो निक्कै सराहनीय छ । यस्ता अरू कृतिहरू प्रकाशन हुनुपर्छ, हुँदै जानुपर्छ ।
| तपाईको प्रतिक्रिया | |
|
|