|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


चीनमा बौद्धधर्मको प्रचारप्रसार गर्नमा नेपालका चौथो शताब्दीका बुद्धभद्र र छैटौँ शताब्दीका भृकृटीको ठूलो योगदान छ । बुद्धभद्रका चिनियाँ समकालीन फाहियान-फा स्यान) र सातौँ शताब्दीका हुयन साङ-स्वेन चाङ)ले पनि लुम्बिनी र भारतको भ्रमण गरेर बौद्धधर्मबारे यथेष्ट ज्ञान प्राप्त गरी चीनमा प्रचारप्रसार गर्न योगदान दिएका थिए । चीनको तिब्बतमा अतिपूजित भृकुटीको अस्तित्वबारे नेपालमै राम्रो अनुसन्धान नभएको तथा चीनमा पुग्ने पहिलो नेपाली बौद्धभिक्षु बुद्धभद्रका बारेमा नेपाली जनतामा खासै ज्ञान नभएको स्थितिमा चीनले बुद्धभद्रका बारेमा अनुसन्धान गर्न सहयोग गर्ने समाचार प्रकाशन हुनुले यस क्षेत्रका नेपाली जनमानसमा खुसी लाग्नु स्वाभाविक छ । चिनियाँ बौद्ध सङ्घले चीनस्थित नेपाली राजदूतावासलाई बुद्धभद्रको खोजबिन गर्न सहयोग पुर्याउने वचन दिएको थाहा भएको छ ।
अझ चीनमा सुरक्षित रहेको शाक्यमुनि बुद्धका दाँत र औँलाको हाड नेपालमा प्रदर्शन गर्न सकिने सम्भावनाका बारेमा पनि नेपाली राजदूतावाससँग छलफल भएको खबरले नेपालीलाई हर्ष लागेको छ ।
नेपाली र चिनियाँ केही विद्वान तथा राजनीतिक व्यक्तित्वहरुले बुद्धभद्रलाई आˆनो कार्यपत्र र मन्तव्यमा सामान्य उल्लेखसम्म गर्छन् तर उनको बारेमा नेपाली जनमानसमा त्यति विवरण पाउन सकिएको छैन । चिनियाँ बौद्धधर्मावलम्बीहरु भने बुद्धभद्रलाई अत्यन्त श्रद्धाभावले लिने गर्छन् ।
बुद्धभद्र-सन् ३५८-४२९) चीन जाने र बौद्धधर्मको अध्यापन गरी चीनमा बौद्धधर्मको शिक्षा र प्रचारमा जीवन अर्पण गर्ने पहिलो नेपाली थिए । उनले चीनमै निर्वाण प्राप्त गरेका थिए । उनको चिनियाँ नाम च्वे सान हो । उनी कपिलवस्तुका थिए । उनका आमापटि्टका हजुरबाको घरजग्गा कपिलवस्तुमा भए पनि उनी व्यापार गर्नका लागि तत्कालीन नगरहारा भन्ने राज्यको नाआली-हाल अफगानिस्तानको जलालावाद)मा गई बसेका थिए । बुद्धभद्र जन्मनुअघि उनका आमाबाबु पनि हजुरबा सँगै बसेका थिए । बुद्धभद्रको जन्म सन् ३५८मा त्यहीँ भएको हो । बुद्धभद्र सानै छँदा आमाबुबाको त्यहीँ निधन भयो । हजुरबालाई चोट लाग्यो र बुद्धभद्रलाई लिई कपिलवस्तु फर्के । केही समयपछि बुद्धभद्रका हजुरबाआमाको पनि मृत्यु भयो । उनी दयालुहरुको दयामायामा हुर्के र पढे । उनी सानैदेखि प्रखर बुद्धिका थिए । कुनै पाठ अरुलाई बुझ्न र सम्झन एक महिना लाग्नेमा उनलाई एकैदिनमात्र लाग्थ्यो । सोह्रसत्र वर्षको उमेरमा उनलाई बौद्धधर्मको राम्रो ज्ञान भइसकेको थियो । अध्ययनका निम्ति उनी बौद्ध तीर्थस्थल र विहारहरुको यात्रा गर्थे । सो सिलसिलामा उनी काश्मिरको मौथ्यान पुगे । उनी त्यहाँ बौद्धधर्मको अध्ययन र अध्यापन गर्न थाले । त्यहाँ उनलाई बुद्धकै अवतारका रुपमा हेरिएको थियो ।
सन् ३९९मा बुद्धधर्मको अध्ययन र सम्बन्धित तीर्थस्थलको भ्रमणका लागि चीनबाट दुई दल भारत र नेपाल आएका थिए । एउटाको नेतृत्व फाइहान र अर्काको नेतृत्व पाओ युनले गरेका थिए । युनको दल काश्मिरको विहारमा अध्ययन गर्न आउँदा बुद्रभद्र भएकै विहारमा आइपुग्यो । युनको दल चीनमा बुद्धधर्मको विश्लेषणात्मक तवरले अध्यापन गराउने र चिनियाँ भिक्षुका मनमा उठेका शङ्काको समाधान गरिदिने व्यक्तिको खोजीमा थियो ।
उनीहरुले त्यस्तो व्यक्तित्वमा बुद्धभद्रलाई नै भेटे र चीन जान अनुरोध गरे । चिनियाँहरुको अनुनयविनयपछि उनी सन् ४०६मा काश्मिरबाट चीनतर्फ प्रस्थान गरे । करिब तीन वर्षसम्म पैदलयात्रा गरी छवटा देश नाघेर भियतनाम हुँदै पानीजहाज चढी उनी चीनतिर लागे ।
सन् ४०९मा चीन पुगेका उनी पूर्वी सिन् साम्राज्य-सन् ३१७-५२०)को तत्कालीन राजधानी छाङ आन पुगे । त्यहाँ उनले भिक्षुहरुलाई बुद्धधर्मको शिक्षा दिए । उनी भविष्यद्रष्टा पनि थिए । उनको सपना पनि मिल्थ्यो । विस्तारै उनको रिस गर्नेहरु जन्मन लागे । सम्राट्लाई पनि उनको बारेमा नचाहिँदो कुरा लगाइएकाले सम्राट् उनका विरोधी भए । त्यसकारण उनी त्यहाँबाट छाङ च्याङ उपत्यका लागे । त्यहाँ केही समय बसी नानचिङतिर लागे ।
सन् ३९९मा बुद्धधर्मको अध्ययन र सम्बन्धित तीर्थस्थलको यात्रा गर्न गएका सान्सी प्रान्तका चिनियाँ भिक्षु फाइहान-फा स्यान) सन् ४१२मा भारतबाट चीन फर्के । उनले नानचिङमा बुद्धभद्रलाई भेटे र छाङ आनका सम्राट्लाई उनको निर्दोषिताबारे जानकारी गराए । त्यसपछि बुद्धभद्र र फाइहान फेरि नानचिङ र्फके र दुवैजना मिली धेरै बौद्ध ग्रन्थको सम्पादन र चिनियाँ भाषामा अनुवादको काम गरे । ती काममध्ये १०७ मुठा-भाग)को १५ठेली किताब मुख्य छन् । ती अझसम्म सुरक्षित छन् - निरञ्जन भट्टराई, नेपाल-चीन सम्बन्ध) ।
बुद्धभद्रले चीन पुगी चौथो शताब्दीताका पूर्वी हान साम्राज्यमा बुद्धधर्म प्रचार गरेका थिए ।फाहियानले नेपालको कपिलवस्तु र भारतको श्रावस्तीमा भ्रमण गर्नुका साथै बुद्धभद्रलाई बौद्धग्रन्थ अनुवादमा सघाएका थिए ।-नेपाल परिचय, राकुपाँडे)पेज ६६।
बुद्धभद्र कपिलवस्तुको शाक्यपरिवारमा जन्मेका थिए,जुन परिवारमा गौतमबुद्ध स्वयं जन्मेका थिए । उनी ४०६मा भियतनाम हुँदै थाङवंशको राजधानी सियानमा पुगे । उनको उद्देश्य नागार्जुनको माध्यमिक दर्शनको उपदेश दिनु थियो । पछि चियाङ्सी प्रान्तको पर्वत लुसानका प्रमुख भिक्षु हुइयुआनले उनलाई कतिपय सूत्र र शास्त्रको अनुवाद गर्न भनी आमन्त्रित गरे । ४१९मा उनले फाइहानसँग मिलेर बुद्धका विनयहरुको अनुवाद र व्याख्याको बृहत् योजना परिचालन गरे । उनले महापरिनिर्वाणसूत्रजस्ता धर्मशास्त्र र सूत्रको अनुवाद र सङ्ग्रह गरे । उनको समाधि लुसान पर्वतको थोङ्लिङ चैत्यमा राखिएको थियो । चिनियाँ बुद्धधर्म सङ्घले उक्त समाधिको करिब पाँच वर्षअघि मर्मत गरेको थियो ।-प्रा हुआङ् सिन चुआन,सद्भाव-१)
संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार बुद्धभद्रले चीनमा बौद्धधर्म दर्शनअन्तर्गत चान सम्प्रदाय-ध्यान सम्प्रदाय)चिनाउन र विकसित गर्नमा २१वर्ष अथक परिश्रम गरी चिनियाँ सहयोगी बौद्ध विद्वानहरुसँग मिलेर १५किसिमका बौद्ध धर्मसूत्रको ११७खण्ड ग्रन्थ अनुवाद गरेर अद्वितीय योगदान गरे र चीनमै सन् ४२९मा दिवङ्गत भए -जोशी, नेपालको इतिहासका विविध पक्ष)।
बुद्धिजीवी गोविन्द भट्ट बुद्धभद्रलाई भारतीयहरुले आˆनो मुलुकका भने पनि बुद्धभद्र नेपालकै कपिलवस्तुका भएकामा जोड दिनुहुन्छ । चीन अध्ययन केन्द्रका तर्फबाट चीनमै गएर उनका बारेमा अनुसन्धान सुरु गरिएको पनि बताइएको छ । चीनका मञ्जुश्री, फाहियान, हुयन साङ, स्रङचङ गम्पो तथा नेपालका बौद्धदर्शनका प्रकाण्ड विद्वान बुद्धभद्र, चेली भृकुटी र कलाकार अरनिकोका विषयमा नेपाल र चीन दुवै पक्षबाट सरकारीस्तरमा एकमुष्ट अध्ययनअनुसन्धान गर्नसकेमा इतिहासका विभिन्न तथ्य उपलब्ध हुनुका साथै दुई देशबीचको सम्बन्ध गाढा बनाउन अझ सहयोग पुग्ने विश्वास गर्न सकिन्छ ।
| तपाईको प्रतिक्रिया | |
|
|