|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


भक्तपुर जिल्लामा पनि ऐतिहासिक रानीकोट दरबार एवम् रानीकोट गढी छ भन्ने सुन्दा अधिकांश भक्तपुरवासी अचम्म मान्दछन् । यस्तो ऐतिहासिक दरबार भक्तपुरको सिपाडोलमा छ तर अहिले भने त्यो भग्नावशेषमा परिणत भइसकेको छ ।
भक्तपुरको गुण्डु गाविसको वडा नं.३, सिपाडोलको वडा नं. ४ र काभ्रेको र्याले गाविसको वडा नं. ५ को सङ्गम स्थलमा रहेको सो रानीकोट दरबार अहिले हेर्दाभने त्यस्तो कुनै ऐतिहासिक दरबार थियो र जस्तो लाग्छ । हाल सो स्थ्ाानमा दरबारको भग्नावशेषमात्र देख्न पाइन्छ ।
भक्तपुरको सूर्यबिनायकबाट सात किलोमिटर माथिपट्टि रहेको सो दरबार गणेश मन्दिर, घ्याम्पे डाँडाहुँदै बाघ भैरब मन्दिर नजिकै करिब दुई हजार मिटर उचाइमा छ । चारैतर्फ डाँडाहरू रहेको सो दरबारको दक्षिणतर्फ फूलचोकी डाडाँ छ । दरबारको भग्नावशेष स्थलबाट हेर्दा काठमाडांैँ उपत्यका र उत्तर पट्टकिो सेतो हिमालको दृश्य अति आकर्षक देखिन्छ ।
भग्नावशेषबाट पूर्वपट्ट िकाभे्रको र्याले गाविस र सिपाडोल गाविसको आशापुरी डाँडाँ छ । पश्चिमपट्टि लाकुरी भञ्ज्याङ र उत्तरतर्फकबाट भक्तपुर सहर देखिन्छ । पश्चिम र उत्तरपट्टि हेर्दा काठमाडौँ, ललितपुर र भक्तपुरलाई राम्रोसँग नियाल्न सकिन्छ ।
रानीकोटगढी बाघ भैरब हुँदै फूलचोकी पुग्ने नजिकको मार्ग पनि यही नै हो । पहिला यहीँबाट फूलचोकी आउने जाने गर्ने गरेको पनि स्थानीयवासी बताउँछन् । यो स्थान पहिला काभे्रको व्यापारिक नाका पनि हो । स्थानीय बासिन्दाका अनुसार काभे्रको कुशादेवी, ढुङ्खर्क तथा भक्तपुर सिपाडोलको आशापुरी हुँदै पनौती जाने बाटो पनि यँहीबाट छ । यहाँबाट आधा घण्टामा लाकूरी भञ्ज्याङ पुगिन्छ र नजिकै सानो फूलचोकी मन्दिर पनि छ ।
पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण अग्ला डाँडाको बीचमा हाल देखिने अग्लो थुम्कोमा नै रानीकोट दरबार थियो । वारिपारि मन्दिरहरू र बीचमा रानीकोट दरबार, दक्षिण तर्फबाट नजिकै प्रसिद्ध बाघ भैरब मन्दिर छ भने उत्तरतर्फ प्रसिद्ध सूर्यबिनायक गणेश मन्दिर । त्यस्तै पूर्वतर्फ प्रसिद्ध कोलेश्वर महादेव र आशापुरी महादेव छ भने पश्चिमतर्फ प्रसिद्ध अन्तलिङ्गेेश्वर मन्दिर अवस्थित छ । त्यसैले धार्मिक हिसाबले पनि सो मन्दिर महत्वपूर्ण मानिन्छ ।
करिब छ रोपनी क्षेत्रफलमा फैलिएको दरबारक्षेत्रको एक रोपनीमा दरबार बनेको देखिन्छ । अहिले त्यहाँ रुख, घाँस र झारपातबाहेक केही देखिँदैन । दरबारक्षेत्रमा यत्रतत्र छरिएका ढुङ्गा र बाक्लो इँट्टाहरू मल्लकालका जस्ता लाग्छन् । ती निर्माण सामग्रीहरू दरबार बनाउने बेलामा प्रयोग भएका हुनसक्छन् ।
रानीकोट दरबार राति लुक्ने दरबारका नामबाट पनि चिनिन्थ्यो, स्थानीय बासिन्दा बताउँछन् । दरबार देख्नेहरू हाल भग्नावशेषमा परिणत भएको देख्दा चित्त दुखेको धारणा राख्छन । गुण्डु गाविस घ्याम्पे डाँडाकी ९० वषर्ीया सानुमाया लामा र सिपाडोल-४ की ६१ वषर्ीया कान्छी सापकोटा हेर्दाहेर्दै दरबार भग्नावशेषमा परिणत भएकोमा आफूहरूलाई खल्लो लागेको बताउँछिन् ।
तामाङ भन्छिन् -\\\"ल्लकालमा त्यहाँ गढी नै थियो रे, राजारानी आएर बस्थे । यो रानी लुक्ने दरबार हो भन्थे, त्यहाँ रानी लुक्ने सुरुङ अझै छ, खोजेर हेरे भेटिन्छ । मेरै आँखाले देखेको दरबर हो यो छिमेकीले इँट्टा चोरेरै सिध्याए दरबार ।\\\"
रानीकोटकी स्थानीय ८० वषर्ीया ठूलीमाया तामाङले भत्किएको दरबार देखेको बताउँछिन् । उनी भन्छिन् -\\\'दरबारको इँट्टा लगेर गाउँलेले दर्जनौ घर बनाए, व्यक्तिको घर त बन्यो तर पुस्ताले देख्न पाउनुपर्ने दरबारको भने यो हालत भयो ।\\\'
गुण्डु ३ का ६६ वषर्ीय लालबहादुर तामाङ करिब ३५-३६ साल तिर दरबारको इँट्टा, टायल लगेर नजिकै काभ्रेवासीले घर बनाएको बताउँछन् । यहाँ मल्लकालमा ठूलै गढी भएको आफ्ना पुर्खाले बताएको उनी सुनाउछन् । गढी अझै छ, उनी भन्छन् -\\\"भक्तपुरमा लडाइँ पर्दा राजा रानी यहाँ आएर बस्थे रे, कहिले काही राजा रानी आराम गर्न पनि यहीँ आउँथे रे ।
यही दरबार कब्जामा लिएर गोर्खालीहरूले उपत्यका विजय गर्न लडाइँ लडेको भन्ने पनि पुर्खाहरूले बताएको स्थानीयवासी बताउँछन् । त्यसो त रानीकोट दरबार आसपासको क्षेत्रसँग शिशिर र वसन्तको कथा पनि जोडिएको बताइन्छ । राजकुमार शिशिरलाई रानीले मार्न पठाउँदा यही जङ्लमा ल्याएर छाडिएकाले यो रानीगढीसँग शिशिर वसन्तको कथा जोडिएको स्थानीयािसीको भनाइ छ ।
पानी खानको लागि रानीले खनाएको रानीकुवा अझै पनि दरबारमा देखिन्छ । दरबारबाट अलितल रहेको यही कुवाको पानी वर्षौंसम्म यहाँका बासिन्दाले प्रयोग गरेका थिए । त्यसैले हुनसक्छ रानीकुवा पछिसम्म संरक्षित अवस्थामा रहेको । त्यसो त रानीबस्दा रानीको लुगा दरबारको अलि तल खोलामा धोवीहरूले धुनेहुनाले धोवीखोला नाम रहेको पनि स्थानीयवासी बताउँछन् ।
दरबारकै आसपासमा सिंहविर गुफा पनि छ । यो गुफाको उत्खनन् गर्नुपर्ने आवश्यकता रहेको स्थानीयवासी बताउँछन् । दरबारको अलि तल एउटा सानो प्लाल छ त्यहाबाट आवाजसहित चिसो हावा आउने गरेको स्थानीय बासिन्दा बताउँछन् ।
यस्तो पुरातात्विक महत्वको मन्दिर, विविध सामाग्री एवम् ऐतिहासिक दरबारको बारेमा पुरातत्व विभागले समेत चासो दिएको छैन । त्यस क्षेत्रको संरक्षण एवम् अनुसन्धान गरी रानीगढी मै रानीकोट दरबार बनाउनुपर्ने आवश्यकता देखिन्छ ।
पर्यटकीय आधारमा समेत यो क्षेत्रको विकास हुन आवश्यक छ । रानीकोट दरबारलाई पुनः जिवन दिने हो भने यो प्रसिद्ध पर्यटकीयस्थल बन्न सक्छ । भक्तपुरका राम सुन्दर बके यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न अध्ययन सुरु गरेको बताउँछन् । यहाँबाट फूलचोकीसम्म पैदल एवम् घोडचढी पर्यटन विकासका लागि आफू लागेको बताउँदै यसका लागि पर्यटन बोर्डले पनि चासो दिनुपर्ने आवश्यकता उनी देखाउँछन् । रानीकोट क्षेत्रमा पर्यटन विकासकै लागि होटल निर्माणमा छ रोपनी जग्गा किनेको र होटल निर्माणका लागि आवश्यक तयारी गरेको पनि उनी बताउछन् ।
| तपाईको प्रतिक्रिया | |
|
|