|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


पत्रकारिताको बढ्दो लोकपि्रयतासँगै पछिल्लो समयमा पत्रकारिता पढ्न चाहने विद्यार्थीको सङ्ख्या पनि हृवात्तै बढेको छ । उपत्यकालगायत विभिन्न स्थानमा खोलिएका पत्रकारिता प्रशिक्षण केन्द्र र शिक्षण संस्थाहरुले पनि पत्रकारिताको बढ्दो लोकप्रीयताको पुष्टि गर्छन् ।
पत्रकारिता पेसाप्रति युवा जमातको आकर्षणकै कारण करिब तीन दशकअघि आठ विद्यार्थीसहित रत्न राज्यलक्ष्मी क्याम्पसबाट सुरु गरिएको पत्रकारिताको अध्ययन अध्यापन हाल देशभरका करिब १५० भन्दा बढी क्याम्पसमा फैलिन पुगेको छ ।
पत्रकारिता पढ्ने र पढाउनेहरुको सङ्ख्यावृद्धि सँगसँगै नेपाली पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै देखापरेका छन् ।नेपालमा पत्रकारिताको पढाइ प्रयोगात्मकभन्दा बढी सैद्धान्तिक भएको भनी यसै क्षेत्रसँग सम्बद्ध विज्ञहरुबाट नै गुनासो आउन थालेका छन् ।
कलेजहरुले विषयका गाम्भीर्यतालाई ध्यानै नदिई केवल विद्यार्थी तान्ने माध्यमका रुपमा मात्र पत्रकारिताको अध्यापन गराउनाले सोचेअनुरुपको दक्ष जनशक्ति विश्वविद्यालयले उत्पादन गर्न नसकेको तर्क पत्रकारिताका अध्यापक अच्युतबाबु कोइरालाको रहेको छ । बढ्दो विद्यार्थी चापसँगै उत्पादित जनशक्तिलाई कहाँ र कसरी खपत गर्ने भन्ने प्रश्न देखिएको छ ।
यस्तै विद्यार्थी चापकै कारण स्नातक दोस्रो वर्षका विद्यार्थीलाई व्यावहारिक अभ्यास -इन्टर्नसीप)का लागि सञ्चारगृहमा अवसर पाउनु अब त जागिरै पाउनु समान हुनपुगेको छ ।
सञ्चारगृहहरु पत्रकारिताको विद्यार्थी हो भन्ने थाहा पाउनेबित्तिकै पूरा कुरा नै नसुनी इन्टर्नसीपलाई ठाँउ खाली छैन भन्छन् । गोर्खा एफएममा इन्टर्नसीप गरिरहेकी प्रशिक्षार्थी पत्रकार मिलन श्रेष्ठ आफ्नो तीतो अनुभव सुनाउँछन् ।
सबैसामु चिनिन पाउने भएकाले सफल टेलिभिजन समाचार वाचक बन्न चाहेको बताउने ग्रामीण आर्दश बहुमुखी क्याम्पस नेपालटार कक्षा ११ का सुधन डोटेल पत्रकारिता विषय छनोट गरेकोमा अहिले पछुताउँदै भन्छन्- \"कलेजमा बेकार पत्रकारिता लिएछु, छापा माध्यमका बारेमा मात्र बढी पढाईदो रहेछ, क्यामरा, ल्याब केही पनि छैन । डेक्स र बेन्चको भरमा पनि के पत्रकारिता पढ्नु ?\"
कलेजहरुले बिनाभौतिक पूर्वाधार नै पत्रकारिताको अध्यापन गराउनाले सुधनको जस्तै नियती भोग्न धेरै छात्रछात्रा बाध्य छन् ।विभिन्न तहका पत्रकारिता विषयमा हाल करिब १५ हजार विद्यार्थी अध्ययनरत रहेको पाइँन्छ । पत्रकारिताका लागि सम्बन्धन लिनुपूर्व कलेजले आफूसँग सम्पूर्ण भौतिक पूर्वाधार रहेको दाबी गर्ने तर त्यसअनुसार नहुने भएकाले उजुरी परेको खण्डमा अनुगमन गरी आवश्यक कारबाही गर्न सकिने त्रिभुवन विश्वविद्यालय मानविकी विभागका सहायक डीन माधव कोइराला बताउनुहुन्छ ।
विश्वमा नै पत्रकारितालाई सर्वाधिक जोखिमयुक्त पेसाका रुपमा लिने गरिन्छ । नेपालमा त झन् दण्डहीनता र पत्रकारहरु विरुद्ध बढ्दो हत्या हिंसाका कारण प्रायः अभिभावक आफ्ना छोराछोरीले पत्रकारिता पेसा नअपनाउन् भन्ने चाहन्छन् ।
छोरीले पत्रकारिता विषय पढेपनि पत्रकारिता व्यवसायमा नलागी बरु पत्रकारिताको अध्यापिका बनोस् भन्ने चाहन्छन् सविता लामिछानेका अभिभावक । हाल स्नातक दोस्रो वर्षकी छात्रा सविताका अभिभावक पत्रकारिताभन्दा महिलाका लागि शिक्षण पेसा सम्मानित र सुरक्षित मान्दछन् ।
रत्न राज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता अध्ययनरत नेपाल वान टेलिभिजनका पत्रकार सुमन थापाका अभिभावक भने उनले राज्यको चौथों अङ्गका रुपमा रहेको पत्रकारिता पेसा अपनाएकोमा खुसी नै रहेको सुमनले बताए ।
समाचार प्रधान सञ्चारगृहहरुमा मात्र इन्टर्नसीपका लागि विद्यार्थी पठाउने गरिएकोमा विद्यार्थी चापका कारण त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विद्यार्थीहरुलाई अनलाईन ब्लग र अन्य आम सञ्चारमाध्यममा पनि पठाउन थालिएको रत्न राज्यलक्ष्मी क्याम्पसका पत्रकारिता विभाग प्रमुख चिरञ्जीवी खनालले जानकारी दिनुभयो ।
पत्रकारिताका विद्यार्थीहरुमा पढाइ पूरा गरेपछि काम पाउने कि नपाउने भन्ने चिन्ता पनि थपिएको छ । तर पत्रकारिताका प्रबुद्ध व्यक्तिहरु भने सञ्चारको क्षेत्रमा दक्षिण एसियामा नै नेपाल तीव्रगतिमा अघि बढिरहेकोले क्षमतावान् र कौशलयुक्त व्यक्तिलाई काम पाउन कठिनाइ नहुने दाबी गर्छन् ।
पत्रकारिताका अध्यापक तथा लेखक श्रीराम खनाल पत्रकारिता बहु-आयामिक विषय भएकाले नयाँनयाँ सञ्चार प्रविधिहरुसँग आफूलाई अभ्यस्त पार्दै लान सकिएमा सञ्चारक्षेत्रमा प्रचुर अवसर रहेको बताउनुहुन्छ ।
व्यावसायिक पत्रकारिताको साथसाथमा आमसञ्चारका अन्य पाटोमा दृष्टि लगाउने हो भने अनुमान नै लगाउन नसकिने अवसर देख्नुहुन्छ अध्यापक खनाल ।
रेडियो उद्घोषण तालिम दिने द मिडियाज कलेक्सनका सञ्चालक तथा स्टार एफएमका कार्यक्रम प्रस्तोता ज्ञानेन्द्र थापा नेपालको पढाई बजार अनुकूल नरहेको बताउनुहुन्छ । माइक्रोफोन नै नदेखेको मान्छेले स्टुडियोमा बसेर कसरी काम गर्ला ? उहाँ प्रश्न गर्नुहुन्छ ।
कलेजमा रेकर्डर र माइक्रोफोन देख्नै पाइएको छैन । मिडिया हाउसमा गएर कसरी काम गर्ने होला ? स्नातक प्रथम वर्षका विद्यार्थी सविन केसी चिन्ता व्यक्त गर्छन् ।
विभिन्न रेडियो उद्घोषण तालिम दिने संस्थाहरुले पनि रेडियोमा बोल्नुपर्छ भन्ने मात्र सिकाएको तर के बोल्ने र कसरी बोल्ने भन्ने व्यावहारिक ज्ञान नसिकाएको पाइँन्छ, रेडियो सगरमाथाका कार्यक्रम निर्देशक घमराज लुइँटेल बताउँछन् । विश्वविद्यालयमा रेडियोको राम्रो पढाइ नहुने हुँदा पत्रकारितामात्र पढेर रेडियोमा बोल्न नसकिने उहाँको जिकिर छ ।
प्रयोगात्मक अभ्यासको कमीले इन्टर्नसीपमा आउने विद्यार्थीहरुमा समाचार लेख्ने सामान्य ज्ञानको पनि कमी रहेको कान्तिपुर राष्ट्रिय दैनिकका समाचार सम्पादक हरि थापा बताउनुहुन्छ । निबन्ध शैलीमा समाचार लेख्छन्, खटेर काम गर्ने बानी र इच्छा शक्ति नै छैन, उहाँको टिप्पणी छ ।
कलेजमा नै बुलेटिनहरु प्रकाशित गरेर समाचार लेखन, सम्पादन र सङ्कलनको अभ्यास गर्न पत्रकारिताका विद्यार्थीहरुलाई सल्लाह दिनुहुन्छ पत्रकारिता अध्यापक श्रीष भण्डारी । कलेजको मात्र भर नपरी विद्यार्थीले आफ्नैतर्फबाट क्यामरा, रेकर्डरजस्ता साधनहरु जुटाउनुपर्ने आवश्यकता पनि उहाँ औँल्याउनुहुन्छ ।
पत्रकारिताप्रति बढ्दो अभिरुचि र विद्यार्थीको चापलाई दृष्टिगत गरी कलेज, विद्यार्थी र सञ्चारमाध्यमकाबीच राम्रो समन्वय र समझदारी भएमा सबैपक्ष लाभान्वित हुनसक्नेतर्फ ध्यान दिनु आवश्यक देखिन्छ ।
| तपाईको प्रतिक्रिया |
| Thank you. best. |
| chandra prasad neupane|02-Aug-2009 16:44:45 |
| तपाईको प्रतिक्रिया | |
|
|