|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


प्राकृतिक सौन्दर्यले धनी पोखरालाई साहित्य, कला र संस्कृतिको राजधानीको रुपमा विकास गर्नुपर्ने आवाज बारम्बार उठ्दै आएको छ । सांस्कृतिक सम्पदाले धनी पोखरा सुन्दर पर्यटकीय नगरीको रूपमा विश्वभरि चिनिएको छ । यहाँ साहित्य, कला, गीत सङ्गीतजस्ता सिर्जनात्मक क्रियाकलाप प्रशस्त हुने गरेकोले साँस्कृतिक राजधानीमा रूपान्तरण गर्न राज्यले बजेट, पूर्वाधार एवम् स्रष्टाहरुलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
गुरुङ, नेवार, बाहुन, क्षेत्री, थकालीजस्ता कैयौं जाति, जनजातिका जीवन्त संस्कृतिको केन्द्र, कलाकारहरुको लागि पानी रङ्को पाठशालामात्र हैन साहित्य, सङ्गीतका क्षेत्रमा निरन्तर हुने क्रियाकलापले पोखरालाई साँस्कृतिक अग्रणी केन्द्र बनाउने अवधारणा अघि सारिएको हो । पर्यटनको मूल आधार संस्कृति अनि हिमाल, पहाड तालतलैयाका मनोरम प्राकृतिक सुन्दरताले पोखरालाई रमणीय तुल्याएको छ ।
रङ्गमञ्चका लागि भौतिक सुविधायुक्त हल, कलाप्रदर्शनीका लागि राम्रो ग्यालरीको अभाव छ, अनि भाषासाहित्यका साधकहरुलाई सहयोग प्रोत्साहन छैन त्यसमा राज्यको सहयोग अपरिहार्य छ, साँस्कृतिक राजधानीका लागि पूर्वाधार निर्माण गर्नुपर्ने कवि तीर्थ श्रेष्ठ बताउनुहुन्छ ।
वि.सं. २०३५ तिरै टिकटमा मुक्तक कार्यक्रम चलाएको पोखराले तिनताका वर्ष दिनसम्मका लागि एकैचोटि टिकट काटेर दर्शकलाई नाटक देखाएर ख्याति कमाएको थियो । मासिक नयाँ पुराना साहित्यकार एकै ठाउँमा रचनावाचन, समीक्षा, समालोचना गर्ने समता काव्य सन्ध्या चलेको १५ वर्ष भइसकेको छ । स्रष्टाहरु बसेर सिर्जना गर्नसक्ने नेपालमै पहिलो चन्द्रलक्ष्मी सिर्जना ग्राम बनाइएको छ ।
साहित्यकारहरु गाउँघर डुलेर कविता, गजल, मुक्तक रच्छन् गाउँलेलाई सुनाउँछन् । देशका ४४ ठाउँ पुगेको संरक्षण कविता आन्दोलनसहित अक्षर यात्रा, ग्रामीण कविता यात्रा, सिर्जना र असारजस्ता साहित्यिक अभियानहरु यहाँ प्रशस्तै अद्यावधि चलिरहेका छन् ।
सिर्जना गर्ने अभियान अन्त यति धेरै छैनन् होला भन्दै संरक्षण कविता आन्दोलनका संयोजक सरुभक्त पोखराको व्यस्तता सुनाउँछन्- शनिबारको दिन रचनावाचन, किताब विमोचन, परिचर्चा गर्दैमा एकछिन फुर्सद हुँदैन, कार्यक्रम र सिर्जनाका हिसाबले पोखरा अग्रस्थानमा छ, ।\"
\'तर कला, साहित्य, संस्कृतिलाई कुनै पनि क्षेत्र र सीमामा बाँध्न नसकिने हुँदा कुनै ठाउँ विशेषलाई साहित्य, संस्कृतिको राजधानी बनाउने कुरा नमिल्दो र मनगढन्ते हो भन्नुहुन्छ\"- पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक डा. रामनाथ ओझा ।
\'पोखरामा नयाँ पुस्ताका स्रष्टामा कविता, गजलको गतिविधिमा बाढी आएको छ तर स्थापित र अग्रज स्रष्टाहरुले नेतृत्व दिएर टिप्पणी, समालोचना गरेर बाटो देखाउने काम भएको छैन,\" डा. ओझा भन्नुहुन्छ ।
गजल सन्ध्या, मुक्तक वाचन, साहित्य श्रृङ्खला, गीताञ्जलि परिवार, नवनीत साहित्य सागर, हेम्जा काव्य प्रभातमाला, समता काव्यसन्ध्या, गद्य लेखक परिषद, आलोक, नमुना, साहित्य सदनका नियमित क्रियाकलाप किताब विमोचन र साहित्यिक सङ्घसंस्थाका क्रियाकलापले स्रष्टाहरुलाई सक्रिय बनाइरहेको छ ।
\'तर साहित्यिक पत्रकारिताको खडेरी छ भन्नुपर्छ जसले यहाँको साहित्यलाई आम पाठकमाझ चर्चा परिचर्चा गरेर परिष्कृत गर्दै लैजान सजिलो हुन्थ्यो\"- पत्रकार विभु भुसाल भन्छन् ।
पानी रङ्को पाठशालाका रूपमा प्रसिद्ध पोखरामा तीन दशकदेखि क्रियाशील कलाकारहरु गाउँघर डुल्दै आपसमा समता कला कार्यशाला, कला प्रदर्शनी र गोष्ठी छलफल गरेर कलाको गतिविधिलाई तीव्रता दिएका छन् ।
हिमाल, ताल, संस्कृति र जनजीवनका दृश्यचित्रमा अभ्यस्त कलाकारहरु आधुनिक माध्यम र शैलीतर्फ आकर्षित हुँदैछन् । वरिष्ठ कलाकार, कार्टुनिष्ट दुर्गा बरालले चोक र तमसुक कला प्रदर्शनी काठमाडौँमा गरेपछि कला समीक्षक नारायणबहादुर सिंहले बरालका प्रदर्शनीले नेपाली कलालाई दस वर्षपछाडि धकेलिदिएको टिप्पणी गरेपछि पोखरेली कलालाई स्थापित गराइदिएको थियो ।
\'पानी चुहिने सानो ग्यालरीमात्र छ तर कलाकार जुटेर कलाका शैली, आयाम र राष्ट्रिय अन्तरराष्ट्रिय क्षेत्रमा चलेका नयाँ प्रयोग र शैलीबारे बसेर चर्चा गर्ने र कला प्रदर्शनी गर्ने ठाउँ छैन\'- वरिष्ठ कलाकार दुर्गा बराल भन्नुहुन्छ ।
लोकगीत, संस्कृतिमा धनी यस क्षेत्रमा पप गीतको व्याण्ड खुल्ने लहर नै चल्यो एकताका । अझै क्रियाशील पप व्यान्ड र गायकमात्र हैन दोहोरीको रन्को र आधुनिक, पप गीत सङ्गीतले पोखरा तात्ने गर्छ । धर्मराज थापा, अलिमिया, हरिदेवीका लोकसुसेलीदेखि नयाँ पुस्ताका सङ्गीत प्रधान गीतले यसलाई गीतसङ्गीतको केन्द्र बनाइदिएको छ ।
तर २०३५ देखि एक दशक अघिसम्म निकै चल्ने गरेको रङ्गमञ्च अचेल सुनसानजस्तै बनेको छ । \'सोरठी लोक, डाँफे कला मन्दिर, सभागृहका मञ्चमा देखाइने नाटक मञ्चन अचेल सुषुप्त बनेको छ, स्रस्टालाई प्रोत्साहन अभाव, जीविकोपार्जनले लाखापाखा लागेकाले नाटय संस्था शिथिल भएका छन्\'- नाटककार सरुभक्त भन्छन् ।
साँस्कृतिक नगरी बनाउनमा राज्यले उपेक्षा गरेको र सरोकारवालहरु उदासीन हुने गरेको टिप्पणी पनि गरिन्छ ।
सरकारले ललितकला, सङ्गीत र भाषासाहित्यको एकेडेमी बनाउने सोचाइ बनाएको छ । \"तीमध्ये एकमात्र मोफसलमा त्यो पनि आधारशीला भएको पोखरामा राख्ने हो भने स्रष्टाहरुलाई थप प्रेरणा र प्रोत्साहन मिल्छ\"- कवि तीर्थ श्रेष्ठ भन्छन् ।
साँस्कृतिक केन्द्र बनाउनलाई राज्य, भाषा साहित्यका साधक, कलाकार, स्थानीय निकाय, नागरिक समाज र राज्यले पूर्वाधार तथा वातावरण निर्माणमा पर्याप्त ध्यान दिनुपर्ने पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष बुद्धि गुरुङको पनि सुझाव छ ।
| तपाईको प्रतिक्रिया | |
|
|