|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |



लोकतान्त्रिक जनआन्दोलन २०६३को जनभावनालाई सत्तामा बस्नेले नबिर्सिऊन्, जनतालाई धोखा र छल नगरुन्, सरकार नदीजस्तो स्वच्छ भई आफ्नो काम गर्दै अगाडि बढिरहोस् भनी दवाव दिनका लागि नागरिक समाजले गत मङ्सिर ३ गते नागरिक सभाको आयोजना गरेको विदितै छ । सहिदमञ्चमा भएको सो कार्यक्रममा जनसागर नै उर्लिएको थियो ।
नागरिक समाजले सरकार तथा दलहरुका लागि रचनात्मक खबरदारी गरेको सो कार्यक्रममा ऐक्यबद्धता प्रदर्शन गर्न सबै वर्गका जनसमुदाय उर्लिएका थिए ।
कार्यक्रममा कलाकार, मूर्तिकार, साहित्यकार, पत्रकार, बुद्धिजीवी, मानवअधिकारकर्मीको व्यापक सहभागिता थियो । मूर्तिकारको नाताले अझ लोकतान्त्रिक आन्दोलनमा सहभागी भएको कलाकारको नाताले मलाई पनि आफ्नो कृति प्रदर्शर्न गर्न निम्ता थियो । कार्यक्रममा स्रष्टाहरुले गीत, कविता, हास्यव्यङ्ग्य, नाटक, चित्र, मूर्ति सिर्जना गरी दर्शकहरुसमक्ष प्रस्तुत गरेका थिए । सबै देशभक्त लोकतान्त्रिक गणतन्त्रवादी स्रष्टाले आआफ्ना प्रस्तुति गर्दा दर्शकहरुबाट उत्साहवर्द्धक स्वागत गरेका थिए ।
कार्यक्रममको मिति घोषणा हुँदा नै मलाई सो कार्यक्रममा सहभागी भएर आफ्नो सीप र सिर्जनाबाट मूर्ति बनाएर लोकतान्त्रिक गणतन्त्रको पक्षमा ऐक्यबद्धता जाहेर गर्ने अभिलाषा छँदै थियो । त्यसमाथि मूर्ति बनाउनका लागि आयोजकहरुले अनुरोध गरेपछि कार्यक्रममा उत्साहपूर्वक भाग लिएँ । म ढुङ्गा र जराबाट मूर्ति र आकृतिहरु निर्माण गरिरहेको कलाकार ।
कार्यक्रममा ढुङ्गाको मूर्ति बनाउन समय लाग्ने र बोक्न गह्रौ पनि हुने भएकाले रुखका जराबाट आकृति बनाउन कस्सिएँ । मैले \'परास्त\'भन्ने शीर्षकमा कार्भिङ गरी मञ्चमा गएर दर्शकहरुलाई सबैले देख्ने गरी उचालेर प्रदर्शन गरें । धेरै जनताको सामु आफ्नो सिर्जना प्रस्तुत गर्न पाएकोमा मैले आफूलाई खुबै हौसला प्राप्त भएकेा अनुभूति गरें ।
परास्त शीर्षकको सो वैचारिक आकृति सामन्तवादप्रति लक्ष्यित छ । ज्यादै पुरानो र मक्किएको सामन्तवादलाई जनताको बलिदानीपूर्ण आन्दोलनबाट परास्त गरिसकेको अवस्थामा मैले सो शीर्षक रोजेको थिएँ । देशका अधिकांश शोषितपीडित जनताको शोषण गरी मुठ्ठीभरका केही प्रतिशत व्यक्तिको मात्र पक्षमा रहेको सामन्तवादलाई जनताले शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनले परास्त गरेकोले अब लोकतान्त्रिक व्यवस्था ल्याउनुपर्छ । अबका दिनमा पनि सामन्तहरुको जन्म नहोस्, विद्यमान सामन्तवादहरुको अन्त्य होस् , सामन्तवादको उन्मूलन होस्, शोषितपीडित जनतालाई राहतको व्यवस्था होस् भनी सरकार, दल र नेताहरुलाई सतर्क र होसियारी गराउनु आवश्यक छ ।
लोकतान्त्रिक आन्दोलन पूरा भइसक्दा पनि देशमा अझै नागरिक समाज, देशभक्त जनसमुदाय, समूह र तप्काले आफ्नो बलिदानीपूर्ण आन्दोलनलाई पनि जारी नै राख्नुपर्ने हुन्छ । यसरी जनताका महासागरले ढालेको सामन्तवादलाई फेरि चलखेल गर्ने र विस्तारै देश र जनतालाई चुसेर रजाइँ र हालिमुहाली गर्न नपाओस् भनी सतर्क गराउने उद्देश्यले हामी सबैले आआफ्ना क्षेत्रबाट होसियार हुनुपर्छ । देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि संविधानसभाको निर्वाचन समयमै गराउनका लागि जनचेतना जागृत गर्ने, गलत प्रवृत्तिले बिगार्न नपाओस् , पाएका उपलब्धिलाई सुदृढ गरी व्यवस्थित किसिमबाट श्रमजीवी जनताको बीचमा पुर्याएर देशको भविष्य उज्ज्वल हुने कार्यमा उन्मुख भई जनताको बीचमा लैजानुपर्ने भएकाले मैले आफ्नो सिर्जनाको रुपमा मूर्ति बनाएर सो कार्यक्रममा प्रस्तुत गरें । त्यो मेरो भावनात्मक ऐक्यबद्धता थियो ।
यसैगरी नागरिक समाजको आह्वानमा गत मङ्सिर १८गतेको कीर्तिपुरको नगाउँ दोबाटोमा भएको विशाल सांस्कृतिक कार्यक्रममा पनि कलाकार-मूर्तिकारले आफ्नो सिर्जनात्मक अभिव्यक्ति प्रस्तुति गर्ने अवसर पाएका थिए ।सभाको अवधिमै मैले पनि फेरि अर्को जराको आकृति कार्भिङ गरें-विजयको पथ शीर्षकमा । हरेक लडाइँ लडिसकेपछि पाएको अधिकार सुरक्षित राख्दै हर्षोल्लासपूर्वक तरिकाबाट आफ्नो उद्देश्यमा हिंडिरहनुपर्छ भन्ने भाव त्यसमा थियो । सामन्तवादलाई परास्त गरिसकेपछि पनि जनताका आधारभूतका सवाललाई महत्व दिएर उद्देश्यतिर हर्षोल्लासपूर्वक गतिमा रमाउँदै र सही पथमा यात्रा गर्नुपर्नेतर्फ सबैलाई सजग बनाउन त्यो आकृति बनाएको थिएँ । आफ्नो पथलाई सफा र सुन्दर बनाउनु त छँदैछ ,शिखरमा पुग्न अझै धेरै काम बाँकी छ । विजयको पथमा होसियारीपूर्वक गएमा शिखरमा अवश्य पुगिन्छ । देश र जनताको मुक्ति अवश्यम्भावी छ ।
अहिले पनि चूप लागेर बसेमा जनताका मर्म र भावना तथा लोकतान्त्रिक गणतन्त्रउन्मुख बाटोलाई सत्ता सम्हालेर बसेकाहरुले धोखा नदेलान् भन्न सकिन्न।
वर्गीय समाजमा शोषकहरुले बहुसङ्ख्यक जनताको भावना कुल्चेर उनीहरुका सिर्जना बाहिर आउन दिंदैनन् , श्रमको कदर गर्दैनन्, व्यक्तिवादी प्रवृत्तिलाई प्रश्रय दिन्छन् । उनीहरुको स्वार्थी भावनाले सामन्तवादलाई बलियो बनाउँदै जाने हुन्छन्, आफ्नै वर्गीय कि्रयाकलापमा लागेर देश र जनताको शोषण गर्न पुगेका हुन्छन् । निमुखा जनताको विरुद्धमा रहेका हुन्छन् । वर्गीय स्वभाव बोकेर बसेका सामन्तवादका नाइकेहरुलाई जनआन्दोलनबाट मात्र शोषितपीडित जनताले परास्त गर्नसक्ने हुँदा अहिले नेपालमा लोकतान्त्रिक गणतन्त्र नल्याएसम्म सतर्क भई आन्दोलित भइरहनुपर्ने स्थिति रहिरहेकै छ । जनताको शोषण गर्ने बलियो सामन्तवादलाई नेपाल हुँदै संसारबाट नै परास्त गर्दै विजयको पथमा निरन्तररुपमा अघि बढिरहने दायित्व श्रमजीवी जनताको काँधमा छ ।
| तपाईको प्रतिक्रिया | |
|
|