|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


तेह्रौं शताब्दीका कलाकार अरनिको नेपाली ललितकला क्षेत्रका अग्रणी व्यक्तित्व हुन् । राष्ट्रिय विभूति अरनिको नेपालका गौरव हुन् । उनले अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको परिचय नै दिएका छन् । उनको कलाकारिता अहिले सुरक्षित छन् र उनी पनि अमर छन् । उनको कलाकृतिले वर्तमानका कलाकारलाई पनि मार्गनिर्देशन गरिरहेका छन् । मूर्तिकार अरनिकोलाई मूर्तिकारहरुले नमान्ने त कुरै भएन । उनी मूर्तिकारहरुका गुरु हुन् ।
विसं १२४४मा नेपालमा जन्मेका अरनिको मल्लकालीन नेपालका ख्यातिप्राप्त कलाकार हुन् । उनी विशेषगरी वास्तुकला, मूर्तिकला एवं चित्रकलामा पोख्त थिए । उनको बाल्यकालको नाम बलबाहु थियो । राजा जयभीमदेवको पालामा चीनका तत्कालीन राजा कुब्ला खाँले गुम्बा एवं विहार बनाउन चाहना गरी नेपालसँग केही कलाकार माग गरेका थिए । नेपालका राजाले यिनै १७ वर्षिय बलबाहुको नेतृत्वमा ८० जना कलाकारको टोली त्यसतर्फ पठाएको थियो । सो टोलीमा सिकर्मी र मूर्तिकार पनि थिए ।
सो टोली सर्वप्रथम तिब्बतको राजधानी ल्हासा पुग्यो । त्यहाँ उनीहरुले बौद्धचैत्य बनाए । सो चैत्यको त्यहाँ प्रशंसा भयो । त्यहाँ चीनका धर्मगुरु पनि आएका थिए , उनले सो व्यहोरा राजालाई जाहेर गरे, राजाले अरनिकोलाई आफ्नो दरबारमा बोलाए । राजासँग भएको भाँचिएको ढलौटको मूर्ति जुन कसैले जोड्न सकेको थिएन,उनले जोडेर देखाइदिनु, नौ हात्तीका चित्र बनाएर चित्र प्रतियोगितामा प्रथम हुनु र राजासँग नजिकै बसेर कुरा गरेका अरनिकोलाई राजाले \\\'मेरो छेउमै बसेर कुरा गर्न डर लाग्दैन\\\' भनी गरेको प्रश्नको जवाफमा अरनिकोले \\\"हामी त राजालाई बाबुजस्तै मान्छौं, केको डर\\\' भनी दिएको जवाफले चिनियाँ बादशाह उनीसँग प्रभावित भए ।
अरनिको चिनियाँ मूर्तिकारहरुको नाइके बनाइए । उनले चीनमा करिब ५१ मिटरको अग्लो विशाल श्वेत चैत्य र अरु चैत्य, बौद्ध महाविहार, मन्दिर र राजप्रासादहरु बनाए । उनको सीप र क्षमता देखेर चीनमा उनको ख्याति बढ्यो । केटीजस्तो देखिएकाले अरनिको नामकरण गरिएका बलबाहुले मन्त्रीसरहको दर्जा क्वाङ लु ताई फु पनि पाएर सम्मान पाएका थिए । नेपाल आउन चाहेर पनि र्फकन नपाएका अरनिकोको त्रिसठ्ठी वर्षको उमेरमा चीनमै निधन भएको थियो । चीनको इतिहासमा वणिर्त थोरै विदेशीमध्ये अरनिकोको स्थान उँचो छ ।
अरनिकोले चीनमा जुन सम्मान पाए, त्यो सम्पूर्ण नेपाली र नेपाली कलाकारको सम्मान हो । त्यहाँ उनले नेपाली कला र संस्कृतिको निकै प्रचारप्रसार गराए र नेपालीको इज्जत र प्रतिष्ठा अभिवृद्धि गर्ने काम गरे । यसको माध्यमबाट पनि नेपाल र चीनबीचको सम्बन्ध अझ राम्रो भयो । त्यसकारण हामी उनीप्रति ऋणी छौं र उनलाई राष्ट्रिय विभूतिको रुपमा मानेका छौं ।
विसं २०६२ को राष्ट्रिय कला प्रदर्शनी नेपाल ललितकला संस्थाको कक्षमा हुँदै थियो । मैले एक फुट अग्लो कालो ढुङ्गामा अरनिकोको मूर्ति बनाएर लगें । सात सय वर्षअघिका कलाकारको अनुहार कसलाई के थाहा ? मैले मुहार झल्कने मूर्ति नबनाई मानवआकृति मात्र बनाएँ आँखा, नाक, गाला, चिउँडो आदिविनाको । अर्धकदको सो मूर्तिको जिउमा मैले दौरा, टाउकोमा पाटापाटा भएको टोपी र हातमा छिनो र हथौडा लगाइदिएँ ।
एकदिन नेपाल भाषा एकेडेमीका चान्सलर सत्यमोहन जोशीले एकेडेमीमा स्थापना गर्न कलाकार अरनिकोको मूर्ति बनाउन मलाई आग्रह गर्नुभयो । एकेडेमीले आˆनो भवनमा कलाग्यालरी नै खडा गर्न लागेको रहेछ । मैले त्यही मूर्ति एकेडेमीलाई दिने निर्णय गरें । यसैवर्ष मेरा पिता कलाकार कुलमानसिंह भण्डारीको सातौं स्मृति दिवसको उपलक्ष्यमा घरैमा सानो कार्यक्रम गरी मूर्ति जोशीमार्फत् एकेडेमीलाई हस्तान्तरण गरें । एकेडेमी कीर्तिपुरमा स्थापित छ । जोशीले कलाग्यालरीलाई अन्तरराष्ट्रियस्तरमा ख्याति दिलाउने विश्वास पनि व्यक्त गर्नुभयो । कलाग्यालरी कीर्तिपुरकै सम्पति भएको विचार पनि उहाँले व्यक्त गर्नुभयो । मलाई भने एक कलाकारको मूर्ति आफू कलाकार भएर बनाउन पाएकोमा र त्यसलाई कलाग्यालरीकै लागि प्रदान गर्न पाएकामा औधि गर्व लागिरहेको छ ।
अरनिकोको सम्मान मैले उनकै मूर्ति बनाएर गरें । मेरा कलाकार पितालाई मैले श्रद्धाञ्जलि गर्ने यो भन्दा उत्तम विधि अर्को के हुन सक्थो र ?
| तपाईको प्रतिक्रिया | |
|
|