|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


भाषाको स्वभाव हो सरलतातर्फ उन्मुख हुनु । यसरी सरलतालाई पछ्याउने क्रममा कुनै पनि भाषा केही नवीन त केही प्राचीन प्रयोगहरूलाई एकसाथ लिएर अघि बढ्छ । आफूभित्रका जटिलताहरूलाई पन्छाउनु नै भाषाको परिचय हो । त्यसैले त अंग्रेजीको \'सेन्ट्री\' नेपालीमा \'सन्तरी\' बन्न पुग्छ, उर्दूको \'जिक्र\' जिकिर\' हुन आउँछ र संस्कृतको \'विवाह\'ले \'बिहा\' वा \'बिहे\' को रूप लिन पुग्छ । भाषाको जीवन भन्नु नै कथ्य प्रयोग हो र कथ्यमा स्थायित्व रहँदैन । निरन्तर परिवर्तन भइरहन्छ । प्रयोग र परिवर्तनको क्रममा कुनै समयमा अशुद्ध ठहरिएका प्रयोगहरू पनि कालान्तरमा शुद्ध मानिन्छन् ।
कुनै समय थियो जब संस्कृत भाषाले कट्टरवादी वैयाकरणिक जटिलताबाट मुक्ति खोज्दै थियो र संस्कृतिका विविध अपभ्रंश रूपहरू जन्मिँदै थिए त्यतिबेला अपभ्रंश बोल्नेहरूलाई ग्राम्य, अवैयाकरण एवं अशिष्ट वर्गमा राखिन्थ्यो तर इतिहास र वर्तमान दुवै साक्षी छन् त्यो वैयाकरण संस्कृत आज ग्रन्थहरूमा पलेंटी कसेर बसेको छ भने अपभ्रंशले विभिन्न प्राकृत हुँदै आधुनिक भाषाहरूको स्वरूप प्राप्त गरेको छ ।
एउटा किम्वदन्ती छ, पाणिनि र काव्यापनपछि लामो समयसम्म संस्कृतमा व्याकरण व्यवस्थापक नहुँदा संस्कृतमा विकृतिहरू देखापरे -अर्थात् अपभ्रंश रूपहरूको प्रयोग हुन थाल्यो) । अनि पाणिनिलाई वर्णमालारूपी चौध सूत्रहरू वरदानमा दिने महादेवलाई लागेछ संस्कृत -देववाणी) लाई पुनः पूर्वरूपमा फर्काउनुपर्दछ -यद्यपि महादेवको भाषा संस्कृत नै थियो भन्ने पनि आफैमा प्रश्न हो) र शेषनागलाई एउटी गणिका -वेश्या) को घरमा अवतरित गराएछन् । सधैं सूर्योदयको बेला सूर्याध्र्य दिने गणिकाको अञ्जुलिमा त्यस दिन एउटा सानो सर्प खस्न आएछ । गणिका डराउनुको सट्टा उनले सर्पलाई तत्काल प्रचलित अपभ्रंश भाषामा सोधिछन्- \'कोस्त्वम ?\' अर्थात् \'तिमी को हौ ?\' सर्पले पनि उही मानवीय भाषामा उत्तर दिएछ, \'सप्पो ऽहम् ।\' अर्थात् \'म सर्प हुँ ।\' आफूले संस्कृतको अपभ्रंश रूप मात्र प्रयोग गरेकी गणिकालाई अपभ्रंशको पाली आदि प्राकृत स्वरूप प्राप्त गरिसकेको वास्तविकता थाहा रहेनछ र आश्चर्य मान्दै सोधिछन्, \'रेफ : क्व गतः ?\' अर्थात् (सर्पको) \'रेफ कहाँ गयो ?\', उता सर्पलाई लागेछ आफै असंस्कृत प्रयोग गर्ने गणिका मसँग रेफको खोजी गर्दै छिन् र व्यङ्ग्यपूर्वक भनेछ, \'त्वयापहरितः\' \'तिमीले लग्यौ।\'
यस प्रसङ्गको तात्पर्य के हो भने संस्कृतले अपभ्रंश र प्राकृतको रूप लिइसक्दा पनि भाषालाई उही पाणिनीय सिद्धान्तमै समेट्ने प्रयासहरू नभएका होइनन् तर भाषा र पानी अनियन्त्रित हुन्छन् । जस्तोसुकै बाँधलाई भत्काउन तत्पर हुन्छन् । गणिकाले प्रयोग गरेको प्रश्न \'कोस्त्वम्\' पाणिनीय व्याकरणअनुसार अशुद्ध पयोग हो, हुनुपर्ने \'कस्त्वम्\' हो तर एउटै विसर्ग (रेफ) बाट \'ओकार\' र \'सकार\' दुवैको प्रयोग सामान्य भइसकेको थियो ।
उता सर्पको \'सप्पो ऽहम्\' को \'सप्य\' शब्दले त झन् एक फड्को मारेर प्राकृत रूप लिइसकेको थियो । परवर्ती समीभवनको नियमअनुसार \'रेफ\' परवर्ती ध्वनिमा परिवर्तित भई धर्म- धम्म, कर्म- कम्म, सर्व- सब्ब जस्ता प्रयोग झैं सर्प- सप्प भएको नमुना थियो त्यो तर यसलाई पाणिनि समर्थकहरूले व्यङ्ग्यविनोद बनाए र के देखाए भने पाणिनि र कात्यायनको लामो अन्तरालपछि पतञ्जलि -भाष्यकार) गणिकाको अंजुलिमा खसेकाले पतञ्जलि नाम परेकोले फेरि भाषालाई शुद्ध गरे ।
आजको सन्दर्भमा हेर्दा भन्न सकिन्छ नेपालीका पनि अपभ्रंशहरू जन्मँदै छन् । नेपालीको भाषिक प्रयोग क्षेत्र विस्तृत हुँदै आज नेपाल अधिराज्यको चार सिमानाभन्दा पनि पारि र केही त समुद्रपारिसम्म पनि पुगेको अवस्था छ । यस कारण नेपाली भाषामा विभिन्न स्थानीय भाषाहरूको प्रभाव पर्नु स्वभाविक छ । पाल्पाली नेपालीमा मगर भाषाको प्रभाव, काठमाडौंमा नेवारीको प्रभाव र जनकपुरमा मैथिलीको प्रभावले नेपालीका थुप्रै उपभाषिकाहरू जन्मेका छन् । यसरी नेपालीको मानक स्वरूप स्थिर गर्न भाषाविद्हरूलाई निकै हम्मे परेको छ । भाषा मौखिक प्रयोगकर्ताको मूल सम्पत्ति हो । उनीहरू कसरी प्रयोग गर्छन् भन्ने कुरामा नियन्त्रण गर्न सकिंदैन र त भाषाका समूह भाषा र व्यक्तिभाषाजस्ता रूपहरू देखा पर्दछन् । माथि नै भनिएको छ भाषालाई जटिलतालाई स्वीकार गर्दैन र भाषामा सामान्यीकरणको सिद्धान्त पनि लागू हुन्छ । त्यसैले व्याकरणले स्वीकार नगर्ने अवैयाकरण प्रयोगहरू पनि भाषामा भइरहन्छन्, जुन एकदम स्वाभाविक कुरा हुन् । उदाहरणका लागि हामी यी शब्दहरूलाई लिन्छौं, \'सौन्दर्यता\', \'धैर्यता\', \'माधुर्यता\' र \'बाहुल्यता\' । यी तद्धितान्त तत्सम शब्दहरू व्याकरणिक दृष्टिले नितान्त अशुद्ध छन् । क्रमशः सुन्दर, धीर, मधुर र बहुल विशेषण पदमा \'व्यत्\" -य) प्रत्यय गरी आदिवृद्धिद्वारा सौन्दर्य, धैर्य, माधुर्य र वाहुल्य भाववाचक नामपदको व्युत्पादन भएको छ भने यसपछि फेरि \'ता\' प्रत्यय गरिंदैन किनकि त्यसपछि तयार हुने पद पनि भाववाचक नाम नै हुन्छ । अतः शुद्ध रूप यिनै हुन् तर अल्पशिक्षित तथा उच्चशिक्षित वक्ताहरू पनि निर्धक्क \'सौन्दर्यता\' जस्ता प्रयोग गर्दछन् र विडम्बना के छ भने आफ्ना पत्रिकामा वरिष्ठ, प्रधान, सह र कार्यकारी सम्पादकमा स्वनामगधन्य विद्वान्हरूको नाम राखेर पत्रिकालाई गरिष्ट बनाउनेहरू पनि यस्तै प्रयोग गरिरहेका हुन्छन् । यी र यस्ता प्रयोगहरूले कक्षामा शिक्षकको क्षमता र ज्ञानमाथि नै प्रश्नचिन्ह तेस्र्याइदिने गरेका छन् ।
फेरि पनि यस्ता प्रयोगहरूले प्रयोगकर्ताहरूको ठूलो जमात फेला पार्छन् तब वैयाकरणले चाहेर पनि त्यस्ता शब्दहरूलाई शब्दकोशबाट अलग्याउन सक्दैनन् । उदाहरणार्थ हामी \'राजनीतिक\' र \'राजनैतिक\' शब्दहरूलाई लिन्छौं । तत्सम समूहको यसको शुद्ध रूप \'राजनीतिक\' भए पनि \'राजनैतिक\' शब्दको अत्याधिक प्रयोगले गर्दा अशुद्ध भए पनि शब्दकोशमा यी दुवै रूप राखिएका छन् र केही वर्षपछि शुद्ध रूप नै अशुद्ध भई विस्थापित हुनेछ । यसैगरी आउँदा कोशहरूमा \'सौन्दर्यता\' आदि शब्दले पहिले वैकल्पिक प्रवेश पाउनेछन् र पछि स्थापित हुनेछन् ।
अहिले हाम्रो राष्ट्रभाषा नेपालीलाई बिग्रेको भाषा भन्ने आरोप लाग्ने गरेको छ । यसको कारण किताबैपिच्छे फरक फरक स्वरूप देखिनु हो । नेपाली भाषाको लेख्य स्वरूपलाई मानक रूप दिने काम त्रि.वि. नेपाली विभागले गर्दछ । त्यहाँ भाषाविद्हरूले सामूहिक निर्णय गर्छन् यस्तो प्रयोग गर्ने भनेर तर आफ्नै किताबमा ती निर्णयहरू अनुपालित हुँदैनन् र त्यस्ता निर्णयहरूलाई सार्वजनिक पनि गरिंदैन । यसबाट नै भाषिक अराजकता यसरी झ्याँगिन्छ कि उदेक लागेर आउँछ ।
प्रसङ्ग छ नेपाली वर्णविन्यासको । नेपाली शिक्षण विभागले ह्रस्व-दीर्घका सम्बन्धमा गरेको निर्णयअनुसार तत्सम शब्दहरूलाई तिनकै मौलिक रूपमा लेख्ने तर झर्रा नेपाली, तद्भव र आगन्तुक शब्दमा आदि र मध्यमा ह्रस्व मात्र लेख्ने निर्णय गरेको छ जसले गर्दा आगन्तुक शब्दहरूको वर्णविन्यासमा त परिवर्तन आएर स्कुल, इन्जिनियर, कोसिस तथा सहिद प्रयोगमा आए र झर्रा नेपालीमा पनि यसलाई प्रयोगमा ल्याइयो जस्तै भोलि, पर्सि, मुनि, अस्ति आदि । तर तद्भव शब्दरुमा भने यो नियम कडाइका साथ लागू हुन सकेन र अझै पनि पूरा, तीतो, मीठो, नून, दूध, पीए, खीर आदि तद्भव शब्दहरूमा दीर्घ लेखिँदै छ । यस सम्बन्धमा तर्क आउँछ, क्षतिपूर्तिवापत दीर्घ गरिएको हो ।
भाषा स्वतन्त्र हुन्छ । न यो कसैको अनिस्थ हुन्छ न त ऋणी नै । भाषाले कुनै अर्को भाषाबाट केही लिएबापत क्षतिपूर्ति दिनुपर्छ भन्ने भनाइ आफैमा हास्यास्पद हुन्छ । भाषामा आउने परिवर्तन स्वाभाविक प्रक्रिया हो ।
परिवर्तनको क्रममा कुनै ध्वनिहरू हराउँछन् र कुनै थपिन्छन् पनि तर हराउने ध्वनिको सट्टा भर्ना भाषाले गर्नुपर्छ भन्नु पनि उदेकलाग्दो कुरो हो । यदि तद्भव शब्दलाई ह्रस्व लेख्ने हो र भाषालाई सहज बनाउने हो भने ह्रस्व लेखाइलाई नै मान्यता दिनुपर्दछ । यदि क्षतिकै कुरो गर्ने हो भने पनि \'तिक्त\' बाट \'तितो\' र \'मिष्ट\'बाट \'मिठो\' बन्दा पदान्तमा \'ओ\' थपिएको छ जो आफैमा स्वरागम हो । त्यसैले क्षतिपूर्तिको नाउँमा दीर्घीभवन केवल खट्पाल पुज्नु हो । अर्को प्रसङ्ग लिऊँ, क्षतिपूर्तिको नियम स्वर मात्रापछाडि रहेको व्यञ्जनको लोप भएबापत लगाइएको हो तर \'स्थुल\' र \'क्षीर\' मा आदि व्यञ्जनको लोप भएर \'ठूलो\' र \'खिर\' भएको हो । यहाँ क्षतिपूर्तिको नाउँमा \'ठूलो\' र \'खीर\' को प्रयोग झनै अस्वाभाविक छ ।
अँ, एउटा तर्कले ह्रस्वदीर्घको भेद ल्याउन सक्ने देखिन्छ । त्यो हो अर्थविभेदकता, अर्थात् ह्रस्वलाई दीर्घ पार्दा अर्थभेद मेटिने डर रहन्छ भने त्यहाँ ह्रस्व-दीर्घको भेदमा ध्यान दिइन्छ । जस्तै पुरा-पूरा, फलफूल, तर पीडाबाट \'पिर\' बन्नुपर्नेमा \'पीर\' किन बनाइन्छ ? जबकि यहाँ त क्षतिपूर्ति पनि गर्नुपर्दैन ।
पूरा-पूरा र फूल-फूलको तर्क पनि ग्राह्य छैन किनभने नेपालीमा पनि अन्य भाषामा झैं पर्याप्त अनेकार्थी शब्दहरू छन्, जसको वर्णविन्यास समान छ र तिनको अर्थ प्रयोगका आधारमा लगाइन्छ भने पूर्ण- पूरा र पुष्प- फूल लेख्दा के बिगि्रहाल्छ र ? कुखुरीले पार्ने फूललाई \'फूल\' लेखे पनि र गुलाफको फूललाई फूल नै लेखे के बित्याँस पर्ला र ? अझ उदेकलाग्दा प्रयोग हेरौं \'बीच\', \'पीच\' । कुन तर्कले यो प्रयोग दीर्घ भएका हुन् भन्ने कुरो \'बीच, पीच\' लाई दीर्घ लेखिन्छ भनेर लेख्नेहरू किन लेख्दैनन् ?
हो, भाषामा विकल्प वा अपवादहरू रहन्छन् तर यस्ता द्वैध निर्णयहरूले अन्योल सिर्जना गर्दछन् र भाषा झन् विकारयुक्त बन्दछ । अतः यी र यस्तै अन्य थुप्रै प्रयोगहरूमा सकभर सरल र सहज व्यवस्था गरी भाषालाई अजटिल बनाउनु प्रत्येक नेपाली भाषाप्रेमीको आजको दायित्व हो । भाषालाई लचिलो बनाऔँ र जीवन्त बनाऔँ ।
| तपाईको प्रतिक्रिया | |
|
|