|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |


एक दर्जनभन्दा बढी धर्म मान्ने तथा १०२ जातजाति भएको हाम्रो मुलुक अब विदेशी भाषाको विविधताका लागि पनि चर्चित बन्न थालेको छ।
दुई दशकअघिसम्म गोर्खा सैनिकका लागि विदेशिने नेपाली अहिले रोजगारीका लागि अमेरिका, युरोप, सिङ्गापुर, मलेसिया, जापान, कोरिया एवम् खाडीराष्ट्र कुवेत, बहराइन, अमन, कतार, साउदी अरब, दुवईजस्ता देशहरूमा आफ्ना श्रम, सीप र क्षमता खियाइरहेका छन् ।
समान्यतया स्वदेशमा रोजगारीको अभावमा २० देखि ४० वर्ष उमेर समूहका शिक्षित एवम् अशिक्षित युवायुवतीहरू विदेश जानेगरेका छन् । युरोप र अमेरिका भने सम्पन्न घर परिवारका मानिसहरूमात्र जानसकेका छन् भने अन्य मुलुकमा सामान्य घरपरिवारका मानिसहरू ऋण काढेर भए पनि गईरहेका छन् ।
सम्पन्न देश अमेरिका र युरोप जान नेपाली युवायुवतीहरूलाई निकै कठिनाइ भए पनि अन्य देश जान त्यति कठिनाइ नहुने र स्वस्थ्य मानिसहरू सजिलै जान पाएका छन् । खासगरी कारखाना मजदुर, हेल्पर, सुपरभाइजर, सिकर्मी, डकर्मी, चालक र सुरक्षागार्ड तथा गार्मेन्टको काम गर्न विदेश जाने युवायुवतीहरूले धनसम्पत्ति कमाउनुका साथै त्यस देशका भाषा पनि सिक्ने अवसर पाएका छन् ।
मलेसियाबाट र्फकनेहरू मलाया र खाडीराष्ट्रबाट र्फकनेहरू अरबी भाषामा दक्षता हासिल गरिरहेका छन् । भाषा सिकेर उनीहरू त्यस देशको वातावरणमा सजिलै घुलमिल हुन पाएका छन् भने पारिश्रमिक पनि त्यहाँको भाषा नजान्ने नयाँ सिकारुका भन्दा बढी पाउने गरेका छन् ।
सरदर एक जना नेपालीले मासिक रु. १० हजारदेखि रु. ४० हजार सम्म पारिश्रमिक पाउँछन् । आफ्नो मातृ भाषा, राष्ट्रिय भाषा नेपाली र छिमेकीराष्ट्र भारतका राष्ट्रिय भाषा हिन्दी मात्र जान्ने बुझ्ने युवाहरू विदेशबाट फर्केर आउँदा उनीहरू मलाया, अरबी र अङ्ग्रेजी भाषा बोल्नसक्ने भएर आउने भएकाले नै नेपाल अहिले विभिन्न भाषाको संगम थलो बन्न थालेको छ ।
गएको आर्थिक वर्षमा मोरङ जिल्ला प्रशासन कार्यालयले १४ हजार ३८५ र सुनसरी जिल्ला प्रशासन कार्यालयले १० हजार १३२ राहदानी वितरण गरेको थियो । केही प्रतिसत बाहेक अधिकाँश राहदानी वैदेशिक रोजगारीकै लागि बनाइएको पाइन्छ । पहिले परराष्ट्र मन्त्रालयबाट मात्र बन्ने राहदानी आर्थिक वर्ष ०५४-५५ देखि प्रत्येक जिल्ला प्रशासन कार्यालयबाट पनि वितरण भइरहेको छ ।
सुनसरी र मोरङमा एक वर्षमै यति धेरै राहदानी वितरण भएकाले मुलुकभर वैदेशिक रोजगारका लागि अहिलेसम्ममा कति राहदानी वितरण भएको होला अनुमान गर्न सकिन्छ । विदेशिएका युवाहरूले आर्जन गरेको सम्पत्तिबाट उनीहरूका परिवारजनले यहाँ व्यापार गर्नु, घर बनाउनु, जग्गा खरिद गर्नु, बैङ्क मौज्दात बढाउनुका साथै शिक्षाक्षेत्रमा पनि लगानी बढाएको पाइएको छ ।
यसबाट उनीहरूको पारिवारिक सुख, सुविधा बढ्नुका साथै जीवनस्तरमा पनि परिवर्तन आई समाज र राष्ट्र समृद्धको मार्गतर्फ लम्कन थालेको छ । विराटनगरमा रहेको नबिल बैङ्कले यस वर्ष आफ्नो शाखामा लगभग रु. आठ करोड र एनआइसी बैङ्कले रु.४० लाख वैदेशिक रेमिटयान्स आएको जानकारी दियो ।
हजारौँ किमि टाढा वैदेशिक रोजगारमा रहेका केही युवायुवतीहरूले अकालमै ज्यान गुमाउनु परेको र कतिपयले घरेलुहिंसाको सिकार बनी नारकीय जीवन बिताउनु परेका दुःखद समाचारहरू पनि आइरहेको तीतो यथार्थलाई यस सन्दर्भमा भुल्न सकिंदैन । विगत केही वर्षदेखि सुनसरी चाँदवेला गाविस वडा नं. १ का लगभग १०० भन्दा बढी युवाहरू विदेशमा कार्यरत छन् भने उनीहरूको आउनेजानेक्रम पनि नियमित छ । जस्ाले गर्दा अहिले त्यस गाउँको मुहार नै फेरिएको छ । ग्रामीणक्षेत्र भए पनि सहरको आभास दिइरहको सो स्थानका मानिसहरूको चेतनास्तरमा पनि अहिले निकै बृद्धि भएको पाइएको छ ।
सोही गाउँका तजमुल मियाका चार छोराहरू कुवेतमा काम गर्छन् । उनीहरूले पठाएको रकमबाट उनले बर्सेनि जग्गा खरिद गरिरहेका छन् र छुट्टी मनाउन घर आएका छोराहरूले अरबी र अङ्ग्रेजी बोलेको सुन्दा बुबा तजमुल दङ्ग पर्छन् ।
मधेली गाविस वडा नं.८ निवासी हाजी अब्दुल सकुरका दुई छोरा मलेसियामा र एक छोरा साउदी अरबको जेद्धामा काम गर्छन् । उनीहरूले मोबाइलबाट मलाया र अरबी भाषामा कुरा गर्न थाल्दा बुबा हाजी अलमलमा पर्छन र आफ्नो मातृ भाषामा कुरा गर्न भन्छन् । जेद्धामा काम गर्ने अब्दुल गफारकी श्रीमती नुसरत सुल्तानाले यसपटक इदमा श्रीमान्ले मोबाइलमा कुरा गरेको केही बुझिनन् । अरबी भाषामा जिस्काएको केही नबुझे पछि हप्काएर आफ्नो भाषामा बोल्न लगाएको उनी रमाउँदै बताउँछिन् ।
सोनापुर गाविसबाट पनि लगभग ४०० युवाहरू खाडीराष्ट्रमा काम गरिरहेको स्थानीय युवा मेहदी हुुसेनले जानकारी दिनुभयो । उहाँले आफ्नो गाविसबाट धेरै मुस्लिम युवकहरू विदेश गएपनि युवतीहरू नगएको तर अन्य समुदायका युवतीहरू भने गएको बताउनुभयो । उहाँले \'चाड पर्व मनाउन विदेशबाट आएका हाम्रा भाइ-भतिजाहरू आपसमा नानाथरिका भाषा बोल्छन्, जुन हामी बुझ्दैनौँ, उनीहरू आफैँमा रमाउँछन्, उनीहरू रमाएको देख्दा हामीलाई पनि खुसी लाग्छ\' भन्नुभयो ।
विविध मौलिक भाषाको धनी हाम्रो देशमा आयातित अन्य भाषाहरूका कारणले यहाँको विविधतामा मद्दत पुर्याउनुका साथै धेरै भाषाभाषीका सम्मिश्रण हाम्रो देश वहु भाषा र संस्कृतिबारे जान्न चाहने अनुसन्धानकर्ताहरूका लागि निकै आकर्षक थलो हुनसक्ने देखिन्छ ।
| तपाईको प्रतिक्रिया | |
|
|