|
विषयसूची |
|
| हाम्रो कुरा |
|
| कथा/कविता |
|
| समीक्षा/बहस |
|
|
ताङ्का/हाइकु |
|
| अङ्ग्रेजी कविता |
|
| साहित्य/इतिहास |
|
| कला/संस्कृति |
|
|
|
|
|
|
|
| रचना पठाउनुस् | |
| सम्पर्क |



कम हाँस्ने हास्यव्यङ्ग्यकार भनेर चिनिएका हास्यव्यङ्ग्यकार रामकुमार पाँडे हास्यव्यङ्ग्य समाज नेपाल(हासने)का अध्यक्ष हुनुहुन्छ । नेपाली हाइकुलेखनमा उत्तिकै सक्रिय ६२ वर्षिय पाँडे हाल पेन नेपालका अध्यक्ष पनि हुनुहुन्छ । त्रिविमा भूगोलका प्राध्यापक पाँडे अहिले भूगोल पत्रकारिताको नूतन अवधारणा लिएर देखापर्नुभएको छ । उहाँमा हिममानव यतीको पनि यथेष्ट ज्ञान छ । तिहारको उपलक्ष्यमा लेखक, साहित्यकार, पत्रकार आदिलाई घरैमा निम्त्याएर आलुपार्टी गर्न उहाँ रुचाउनुहुन्छ ।
ख्यालख्याल, खप्पर,बाह्रमज्जा, मोज गर्नोस्, बाबुको बिहे, रसरङ्ग,थुइक्क, एकसय एक हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह, एक सय एक हासने कविता सङ्ग्रहलगायत कविता, यतीको रहस्यलगायतका दर्जनभन्दा बढी कृतिका लेखक पाँडेसँग हाइटहाउस जाउलाखेलमा सम्पादक श्याम रिमालले २०६५साल असोज ३०गते गरेको कुराकानीका अँश-
हास्यव्यङ्ग्य क्षेत्रमा अहिले के गर्दै हुनुहुन्छः?
\'श्रीपाँडेको सरकार\' हास्यव्यङ्ग्य लेख सँगालो रत्नपुस्तक भण्डारबाट भर्खरै निस्क्यो । बाँकी बक्यौता जम्मा गर्ने क्रममा \'जोकतन्त्र जिन्दावाद\' भन्ने शीर्षक हास्यव्यङ्ग्य लेखहरुको सँगालो जोहो गर्ने क्रममा छु । एउटा हास्यउपन्यास \'स्यालको सफर\' पनि लेख्दैछु, त्यो अधमरो अवस्थामा छ ।
हासने घरको प्रसङ्ग कहाँ पुग्यो?
यो नजम्दै बूढो भइसक्यो । यसको अवधारणा सबैका लागि प्रवाह गरिएको हो । अब जसले सक्छ, उसैले गर्ला ।
हास्यव्यङ्ग्य साहित्यको वर्तमान स्थिति के छ ?
विशुद्ध साहित्यिक कालजयी कृतिको अनिकाल छ । अहिले समकालीन नेपालमा समसामयिक व्यङ्ग्यको समेत दरिद्रता देखिएको छ ।
हास्यव्यङ्ग्य क्षेत्रमा गर्नैपर्ने कामचाहिँ के हो त?
लेखनमा स्तरोन्नयन हुनुपर्छ । संस्थागत प्रयास हुनुपर्छ । विशुद्ध साहित्यिक पत्रिकाको पनि त्यत्तिकै खाँचो छ ।
तपाईँको हाइकुलेखन कहाँ पुग्यो ?
झण्डै पचपन्न सय हाइकु लेखिसकेको छु, चारपाँच सय पत्रपत्रिकामा प्रकाशित छ । हाइकुसम्बन्धी थुप्रै भूमिका, जानकारीमूलक थुप्रै लेख, कार्यपत्र लेखेकोछु । भविष्यमा पाँचहजार पाँचसय पचपन्न हाइकुसङ्ग्रह निकाल्ने योजना छ । अङ्ग्रेजीमा लेखिएका हाइकु र हाइकुपरिचय प्रकाशनोन्मुख छ । रेड क्विन(राती रानी)शीर्षक सो सङ्ग्रहमा जापानी प्राध्यापकको भूमिका र ग्रेटा राणाको प्राक्कथन रहने छ ।
तपाईं पेन नेपालको अध्यक्ष पनि हुनुहुन्छ । पेन नेपालको योजना के छ ?
पेनलाई विस्तृत बनाउन र बाहिर ल्याउन प्रयास भइरहेको छ । नेपाली साहित्यलाई अन्तरराष्ट्रियस्तरमा पुर्याउन विभिन्न प्रयास गर्ने अठोट पनि पेन नेपालले गरेको छ । पेनको ब्रोसर, बुलेटिन र जर्नल प्रकाशन गर्ने योजना छ । अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिँदा नेपाली साहित्य प्रबर्द्धनका लागि प्रयास गरिने छ । विदेशी साहित्य यहाँ परिचय गराउने प्रयास पनि जारी छ । नेपाल आएका विदेशी लेखक र नेपाली लेखकहरुसँग साक्षात्कार कार्यक्रम भइरहेका छन् । विदेशमा उत्पति भएका साहित्यिक विधा-हाइकु आदि)को प्रभावसम्बन्धमा पनि कार्यक्रम गरिएको छ ।
यतीको त तपाईँ मास्टर नै हुनुहुन्छ क्यारे?
अँ, मेरो \"यतीको रहस्य\" शीर्षक पुस्तक हालै अङ्ग्रेजीमा प्रकाशन भयो, त्यो यतीसम्बन्धी तेस्रो पुस्तक हो ।
कलामा पनि तपाईँको अभिरुचि छ होइन?
मेरो साहित्यभन्दा कला अगाडि जन्मेको हो । मैले तैल र काष्ठमाध्यममा कलाको काम गरेको छु । जापान र अमेरिकामा मेरो कलासम्बन्धी एकल प्रदर्शनी भएका छन् । सन् २००८जुलाइमा जापानको होक्काइडोमा भएको कला प्रदर्शनीमा मेरो सहभागिता रहृयो । एसियन अमेरिकन ग्यालरी न्युयोर्कद्वारा प्रकाशन हुने \"डिजिटल अर्काइभ\"मा १,५०० कलाकारमध्ये म हालसालै छानिएको छु-उडकटमा रहेको कृतिको शीर्षक हो-पावर प्वाइन्ट ।
अरु केही प्रकाशनमा छन् कि?
निकट भविष्यमा रत्न पुस्तक भण्डारबाट मेरो नेपालको मानवभूगोल शीर्षक कृति प्रकाशनमा आउँदैछ । मेरो उचाइ भूगोलमा पनि ज्ञान छ । यो नयाँ शाखाका रुपमा विकसित भैसकेको छ । नेपालको विकासमा उचाइ भूगोलको योगदान हुने देखिन्छ । भौगोलिक विविधता र सम्भावना उचाइ भूगोलका कारणले देखिएको छ । यससम्बन्धी प्रकाशन र अनुसन्धानमूलक कृति प्रकाशनमा आइसकेको छ ।
तपाईँ नेपाल परिचय पुस्तकको लेखक पनि होइन?
हो । मुलुकको परिवर्तनलाई लिएर अर्को संस्करण ल्याउने सोच त छ , तर परिवर्तन तीव्र भइरहेकाले स्थायित्व भएपछि त्यसलाई नयाँ स्वरुपमा ल्याउने योजना छ ।
भूगोल पत्रकारिताको अवधारणा कसरी जन्मेको हो?
म दिनहुँ पाँचसातवटा पत्रिका दिनहुँ पढ्छु । पत्रकारिताको स्तर वृद्धि गर्न भूगोलले पत्रकारिता र पत्रकारिताले भूगोललाई के दिनसक्छ भन्ने खोजीको सिलसिलामा भूगोल पत्रकारिता जन्मेको हो । यी दुवै क्षेत्रका लागि यो नयाँ विषयको मान्यता स्थापना हुने विश्वास छ । यो उपयोगी छ ।
यससम्बन्धमा त्रिवि भूगोल विभागको जर्नल \'थर्ड पोल\' मा सामग्री आउँदैछ भने भविष्यमा पुस्तक पनि निक्लनेछ ।
एकेडेमी गठन हुँदैछ, केही भन्नु छ कि?
गाई र गधा छुट्टयाउन नसक्ने जमानामा यो प्रश्न नै निरर्थक छ ।
| तपाईको प्रतिक्रिया | |
|
|